Skip to main content

अन्तिम खेलमा टर्कीसँग हार्दा पनि अमेरिका समूह ‘डी’को विजेता रह्यो

फिफा विश्वकप २०२६ को सहआयोजक अमेरिका समूह ‘डी’ को विजेता बनेको छ। समूह चरणको अन्तिम खेलमा टर्कीसँग पराजित भए तापनि, पहिलेका दुई जितसहित अमेरिकाले ६ अंक जोड्दै समूहको अंक तालिकामा शीर्ष स्थान कायम गर्‍यो। अन्तिम खेलमा टर्कीले अमेरिकालाई ३–२ गोलअन्तरले पराजित गरेको हो। टर्कीका लागि अन्तिम इन्जुरी समयमा ८ औं (९०+८) मिनेटमा कान आयहानले गोल गर्दै जित सुनिश्चित गरे।

खेलको तेस्रो मिनेटमै अमेरिकाले अग्रता लिएको थियो। अमेरिकाका लागि अस्टिन ट्रस्टीले गोल गरेका थिए। खेलको १० औं मिनेटमा टर्कीका अर्दा गुलरले गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यसपछि ३१ औं मिनेटमा टर्कीका लागि ओर्कुन कोकुले गोल गर्दै टिमलाई २–१ ले अगाडि पुर्‍याए। अमेरिकाका लागि ४९ औं मिनेटमा सेबस्टियन बरहाल्टरले बराबरी गोल गरे। तर, अन्तिम समयमा अमेरिकी टोलीले गोल रोक्न नसक्दा हार बेहोर्नुपर्‍यो। अमेरिकासँगको यो जितका बाबजुद टर्की विश्वकपबाट बाहिरिएको छ। टर्कीले यसअघि पाराग्वे र अस्ट्रेलियासँग हार भोगेको थियो।