सन् १९९४ को फिफा विश्वकप, अमेरिका। नर्वेको टोलीमा तीन खेलाडी थिए– गोलरक्षक एरिक थोर्स्टभेड्ट, मिडफिल्डर अल्फ–इंगे हालान्ड र फरवार्ड गोरान सोर्लोथ। ३२ वर्षपछि फेरि अमेरिका विश्वकप आयोजना गर्दैछ र इतिहासले एउटा अद्भुत घेरा पूरा गरेको छ। यसपटक नर्वेको जर्सीमा मैदान उत्रिएका छन् उनीहरूकै छोराहरू– क्रिस्टियन थोर्स्टभेड्ट, एर्लिङ हालान्ड र अलेक्जान्डर सोर्लोथ। इराकविरुद्धको समूह चरणको खेलमा यी तीनै खेलाडी एकसाथ मैदानमा उत्रिएसँगै नर्वे फिफा विश्वकप इतिहासमा एउटै खेलमा पूर्व विश्वकप खेलाडीका तीन छोरालाई खेलाउने पहिलो राष्ट्र बनेको छ।
अमेरिकाबाट सुरु भएको कथा, अमेरिकामै दोहोरियो। सन् १९९४ को विश्वकप नर्वेका लागि विशेष थियो। १९३८ यता पहिलोपटक विश्वकप खेलेको टोलीमा अल्फ–इंगे हालान्ड, गोरान सोर्लोथ र एरिक थोर्स्टभेड्ट एकसाथ थिए। उनीहरूले छनोटमा नेदरल्यान्ड्सलाई पछि पार्दै इंग्ल्यान्डलाई बाहिर राखेका थिए। विश्वकपमा नर्वेले मेक्सिकोलाई १–० ले हरायो, इटालीसँग १–० ले हार्यो र आयरल्यान्डसँग गोलरहित बराबरी खेल्यो। चार टोली समान चार अंकमा पुगे पनि गोल अन्तरका कारण नर्वेको यात्रा समूह चरणमै टुंगिएको थियो। त्यही टोलीका तीन छोराहरू अहिले फेरि अमेरिकी भूमिमै विश्वकप खेलिरहेका छन्।
एर्लिङ हालान्डले भने, “विश्वकपमा डेब्यु गर्नु र २८ वर्षपछि नर्वेलाई जित दिलाउनु मेरो लागि गर्वको विषय हो।” सोर्लोथ परिवारका गोरान सोर्लोथले नर्वेका लागि ५५ खेल खेल्दै १५ गोल गरेका थिए। उनका छोरा अलेक्जान्डर सोर्लोथले भने युरोपका १४ सिजनमा १३ क्लबको यात्रा गरिसकेका छन्। एरिक थोर्स्टभेड्ट सन् १९९४ मा नर्वेका पहिलो रोजाइका गोलरक्षक थिए। उनका छोरा क्रिस्टियन थोर्स्टभेड्ट भने मिडफिल्डरको रूपमा खेलिरहेका छन्।
नर्वेले यसपटक शानदार सुरुआत गरेको छ। इराकलाई ४–१ र सेनेगललाई ३–२ ले हराउँदै नर्वेले नकआउट चरणको टिकट सुनिश्चित गरिसकेको छ। यो टोलीलाई नर्वेको ‘गोल्डेन जेनेरेसन’ मानिएको छ। बुवाहरूले १९९४ मा अमेरिकी भूमिमा विश्वकप खेलेका थिए। ३२ वर्षपछि छोराहरूले त्यही भूमिमा इतिहास रचेका छन्। फुटबलमा विरासतको कुरा धेरै सुनिन्छ, तर नर्वेको यो कथा विरासतभन्दा धेरै ठूलो छ- यो तीन परिवार र दुई पुस्ताले मिलेर लेखेको विश्वकपको अद्भुत अध्याय हो।

