बेल्जियम र न्युजिल्यान्डलाई हराउनुपर्ने दबाव, इजिप्ट समूह ‘जी’ को विजेता बन्न सक्ला?
१२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को समूह ‘जी’ का अन्तिम दुई खेल भोलि बिहान हुने निश्चित भइसकेको छ। यस समूहका चारै टोलीले नकआउट चरणमा प्रवेश गर्ने सम्भावना कायम छ। पहिलो खेल सियाटल स्टेडियममा इरान र इजिप्टबीच हुनेछ। इजिप्टले अघिल्लो खेलमा न्युजिल्यान्डलाई ३-१ ले पराजित गरी ४ अंक जोडेर बलियो संभावना बनाएको छ भने लगातार दुई बराबरी खेलेको (न्युजिल्यान्डसँग २-२ र बेल्जियमसँग ०-०) इरानले आफ्नो पहिलो जित निकालेर नकआउट चरणको टिकट सुनिश्चित गर्न चाहन्छ।
त्यसै समयमा, भ्यानकुभरको बीसी प्लेस स्टेडियममा अर्को खेल हुनेछ जहाँ १ अंक जोडेको न्युजिल्यान्ड र २ अंक बोकेको युरोपेली शक्ति बेल्जियम भिड्नेछन्। बेल्जियमका लागि यो खेल समूह विजेता बन्ने महत्वपूर्ण अवसर हो भने न्युजिल्यान्डका लागि विश्वकप इतिहासमा पहिलोपटक नकआउट चरण प्रवेश गर्ने अन्तिम ‘गर या मर’ स्थिति हो। इरान र इजिप्टबीच अन्तर्राष्ट्रिय फुटबलको मञ्चमा विरलै भेटघाट भएको छ। फुटबल इतिहासमा यी दुई टोली केवल एकपटक मात्र आमनेसामने भएका छन्। सन् २००० मा भएको त्यो एकमात्र मैत्रीपूर्ण खेल १-१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा इजिप्ट विजयी भएको थियो।
फिफा विश्वकपको मुख्य चरणमा यी दुई राष्ट्र पहिलोपटक भिडिरहेका छन्। इजिप्टले यो खेल जित्नु वा बराबरी गर्नु पर्याप्त छ भने इरानको लागि नकआउट सुनिश्चित गर्न जीत अनिवार्य छ। हेर्नुपर्ने खेलाडीहरू: मेहदी तारेमी (इरान – फरवार्ड): इरानको आक्रमणका प्रमुख स्तम्भ तारेमी हुन्। बेल्जियमसँग उत्कृष्ट डिफेन्स गर्दै क्लिन सीट राखेको इरानलाई आज गोल दिलाउने र इजिप्टको डिफेन्स तोड्ने जिम्मेवारी उनकै काँधमा छ। अलिरोजा बेइरानभान्ड (इरान – गोलकिपर): अघिल्लो खेलमा बेल्जियमका विश्वस्तरीय फरवार्डका उत्कृष्ट प्रहार रोक्दै टोलीलाई १ अंक दिलाएका बेइरानभान्ड इरानको भरपर्दा पर्खाल हुन्।
मोहम्मद सालाह (इजिप्ट – फरवार्ड): इजिप्टका कप्तान सालाह हाल उच्च फर्ममा छन्। न्युजिल्यान्डविरुद्ध ३-१ को जितमा १ गोल र १ असिस्ट गरेका सालाहको गति र गोल गर्ने शैली इरानका लागि ठूलो खतरा हुनेछ। मोस्ताफा जिको (इजिप्ट – मिडफिल्डर): न्युजिल्यान्डविरुद्ध उत्कृष्ट गोल गर्दै सनसनी मच्चाएका जिको इजिप्टको आक्रमणका नयाँ हतियार हुन्। सालाहसँगको तालमेलले इरानी डिफेन्सलाई चुनौती दिनेछ।

