Skip to main content

मुख्यमन्त्रीलाई हात्तीपीडितले बुझाए ज्ञापन पत्र

१२ असार, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई झापा बाहुनडाँगी क्षेत्रका हात्तीपीडित नागरिकले ज्ञापनपत्र बुझाएका छन्। मुख्यमन्त्री कार्कीलाई नागरिकको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न र जङ्गली हात्तीको आक्रमणबाट स्थानीयले थप समस्या झेल्न नपरोस् भनी मेचीनगर नगरपालिका–१ देखि ४ नं वडासम्मका नागरिकका तर्फबाट ज्ञापनपत्र बुझाइएको हो।

स्थानीय सन्तोष सुवेदीको नेतृत्वमा रहेको प्रतिनिधि टोलीले हरेक वर्ष भारतबाट आउने हात्तीको समूहले लगाएको अन्नबाली नष्ट गर्ने र घरगोठ भत्काउने गरेको भन्दै त्यसको स्थायी र प्रभावकारी रोकथाम गर्न मुख्यमन्त्री समक्ष आग्रह गरेको छ। बाहुनडाँगीदेखि राजमार्ग उत्तरका बासिन्दालाई भविष्यमा पनि जङ्गली जनावरको आक्रमणबाट जोगाउने प्रभावकारी योजना घोषणा गर्नसमेत ज्ञापनपत्रमा माग गरिएको छ।

त्यस अवसरमा कोशी प्रदेशसभा सदस्य गोपाल तामाङले मानव र वन्यजन्तुबीच द्वन्दका रूपमा रहेको हात्तीसम्बन्धी समस्यालाई समाधान गर्न सरकारले पहल गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।