Skip to main content

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनबाट नयाँ पदाधिकारी चयन

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनले नयाँ पदाधिकारी चयन गरेको छ। शुक्रबार भएको मतदानबाट उपसभापति (महिला)मा सोबिता गौतम विजयी भएकी छन् भने महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएको पार्टीको निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिए। रास्वपाको सभापति पदमा रवि लामिछाने र खुला उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध भइसकेका छन्। उपसभापति पदमा निर्वाचित गौतमले प्रतिस्पर्धी तोसिमा कार्कीलाई पराजित गरेकी हुन्। त्यस्तै महामन्त्रीमा आचार्यले मनीष झा, सागर ढकाल र गणेश कार्कीलाई पराजित गरेका छन्।

सहमहामन्त्री पद (खुला) तर्फ हरि ढकाल र असिम शाह विजयी भएका छन्। उक्त पदका लागि रमेश प्रसाईँ, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजीव खत्री, विजय जैरू, हरि ढकाल, हिमेश पन्त गरी ११ उम्मेदवार रहेका थिए। सहमहामन्त्री (महिला) तर्फ निशा डाँगी विजयी भएकी छन्। उनीसँग रिमा विश्वकर्मा, जुली यादव, जमुना शर्मा ‘विदुषी’ र कामिनीकुमारी चौधरी रहेका थिए। पार्टीको निर्वाचन आयोगका अनुसार आजै साँझ नवनिर्वाचित पदाधिकारीहरूको शपथ ग्रहण गरिनेछ।

केन्द्रीय समितिमा महिलाहरूको ‘उल्लेख्य’ उपस्थितिबुधबार भएको पहिलो चरणको चुनावबाट ९९ जना केन्द्रीय सदस्यहरू निर्वाचित भइसकेका छन्। तीमध्ये झन्डै ५० प्रतिशत महिला रहेका छन्। बुधबार रातिको मतपरिणामबाट ९९ मध्ये ४९ जना महिला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। केन्द्रिय सदस्यका बाँकी ५० जना सदस्य सभापति रवि लामिछानेले मनोनयन गर्नेछन्। त्यसले केन्द्रीय समितिमा महिलाको संख्या अझै बढ्ने देखिन्छ। रास्वपामा पदाधिकारीको संख्या १९ रहनेछ।