पहिलोपटक विश्वकप खेल्न प्रवेश गरेको अफ्रिकी टापु राष्ट्र केप भर्डेले राउण्ड अफ ३२ मा अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्ने भएको छ। १३ असार, काठमाडौं। फिफा विश्वकप २०२६ मा डेब्यु गरेको केप भर्डेले ऐतिहासिक प्रदर्शन गर्दै समूह एचको उपविजेता बनेर नकआउट चरणमा प्रवेश गरेको छ। केप भर्डेले अब साविक विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्न लागिरहेको छ।
समूह एचमा शनिबार बिहान साउदी अरेबियासँग गोलरहित बराबरी खेलेपछि केप भर्डेले ३ अंक जोड्दै उपविजेता बनेको हो। पहिलो खेलमै पूर्व विजेता स्पेनसँग गोलरहित बराबरी गर्दै अंकको खाता खोल्न सफल केप भर्डेले दोस्रो खेलमा दुई पटकको विजेता उरुग्वेसँग २-२ बराबरी खेल्दै अंक थपेको थियो। साविक विजेता अर्जेन्टिना लगातार दुई खेल जित्दै समूह जे को विजेता बनेको छ। अर्जेन्टिनाले समूहको अन्तिम खेल आइतबार जोर्डनसँग खेल्ने छ।
समूह एचका दुई खेलको नतिजापछि समूह के को पोर्चुगल, समूह एल को इंग्ल्यान्ड र घाना, समूह जी को इजिप्ट नकआउट चरणका लागि छनोट भइसकेका छन्। यस्तै समूह डी मा तेस्रो स्थानमा रहेको पाराग्वे उत्कृष्ट तेस्रो टोलीका रूपमा नकआउट चरणमा छनोट भएको छ। अहिलेसम्म राउण्ड अफ ३२ का १६ खेलमध्ये ८ खेलको समिकरण तय भइसकेको छ। जसमा दक्षिण अफ्रिका र क्यानडा, ब्राजिल र जापान, जर्मनी र पाराग्वे, नेदरल्यान्ड्स र मोरक्को, आइभोरी कोस्ट र नर्वे, फ्रान्स र स्वीडेन, तथा सहआयोजक अमेरिका र बोस्निया एण्ड हर्जगोभिनाबीचको खेल निश्चित भइसकेको छ।

