अर्जेन्टिना क्लिन स्विपको लक्ष्यमा, अष्ट्रिया र अल्जेरियालाई नकआउट पुग्ने सुनौलो मौका
साविक विजेता अर्जेन्टिना र नवप्रवेशी जोर्डन तथा अष्ट्रिया र अल्जेरिया भिड्ने छन्। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को निर्णायक खेलहरू आइतबार बिहान नेपाली समय अनुसार पौने ८ बजे एकैसाथ सुरु हुनेछन्। समूह विजेता अर्जेन्टिनाले जोर्डनविरुद्धको खेलमा कप्तान लियोनल मेस्सीलाई विश्राम दिने निर्णय प्रशिक्षक लियोनेल स्कालोनीले गरेका छन्। नकआउट चरण प्रवेशका लागि अष्ट्रिया र अल्जेरियाबीच प्रतिस्पर्धा हुनेछ जहाँ अष्ट्रियालाई बराबरी र अल्जेरियालाई जित आवश्यक छ। १३ असार, काठमाडौं।
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ का अन्तिम र निर्णायक खेलहरू आइतबार बिहान एकैसाथ सुरु हुँदैछन्। नेपाली समयअनुसार आइतबार बिहान पौने ८ बजे सुरु हुने खेलहरूमा साविक विजेता अर्जेन्टिना र नवप्रवेशी जोर्डन तथा अष्ट्रिया र अल्जेरिया भिड्नेछन्। अर्जेन्टिना र जोर्डनबीचको खेल डालास स्टेडियममा तोकिएको छ भने अल्जेरिया र अष्ट्रियाबीचको खेल कन्सास सिटी स्टेडियममा सञ्चालन हुनेछ। समूह ‘जे’ मा दुई खेलबाट पूर्ण ६ अंकका साथ अर्जेन्टिना समूह विजेता बनेर नकआउट चरण (अन्तिम ३२) मा पुगेको छ। समान ३ अंक जोडेका अष्ट्रिया र अल्जेरिया दोस्रो र तेस्रो स्थानमा छन् भने अंकविहीन जोर्डन प्रतियोगिताबाट बाहिरिसकेको छ।
अष्ट्रिया र अल्जेरियाबीचको खेलको नतिजाले नकआउट चरणको अर्को टोलीको निर्णय गर्नेछ। अर्जेन्टिनाले नवप्रवेशी जोर्डनमाथि सहज जित निकाल्दै समूह चरणमा आफ्नो पूर्ण जितको कीर्तिमान कायम राख्ने लक्ष्य राखेको छ। अर्जेन्टिनाले पहिलो खेलमा अल्जेरियालाई ३–० र दोस्रो खेलमा अष्ट्रियालाई २–० ले पराजित गरेको थियो। यो खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी सुरुआती ११ मा रहने छैनन्।
जोर्डन प्रतिष्ठाको लडाइँ लड्दै छ। इतिहासमै पहिलोपटक विश्वकप खेलिरहेको जोर्डन बलियो अर्जेन्टिनालाई स्तब्ध पार्दै ऐतिहासिक उलटफेर गर्ने प्रयास गर्नेछ। नकआउट प्रवेशका लागि अष्ट्रिया र अल्जेरियाबीच भिडन्त यो समूहबाट नकआउट चरणमा पुग्ने दोस्रो टोली बन्ने लक्ष्यका साथ अष्ट्रिया र अल्जेरिया मैदान उत्रँदैछन्। गोलअन्तरमा अग्रस्थानमा रहेको अष्ट्रियालाई अर्को चरणमा पुग्न बराबरी पनि पर्याप्त हुनेछ भने अल्जेरियालाई जितै अनिवार्य छ।
अष्ट्रियाले पहिलो खेलमा जोर्डनलाई ३–१ ले हराएको भए पनि दोस्रो खेलमा अर्जेन्टिनासँग २–० ले पराजित भएको छ। अर्कोतर्फ, पहिलो खेलमा अर्जेन्टिनासँग ३–० ले पराजित भएको अल्जेरियाले दोस्रो खेलमा जोर्डनलाई २–१ ले हराउँदै सम्भावना जीवित राखेको छ। यो खेल अल्जेरियाका लागि ऐतिहासिक बदला लिन पनि मौका हो। सन् १९८२ को विश्वकपमा अष्ट्रियाले अल्जेरियालाई पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको थियो। सो हारको बदला लिँदै अल्जेरिया नकआउट चरणमा पुग्न चाहन्छ। अष्ट्रिया पनि ४४ वर्षअघिको त्यो इतिहास दोहोर्याउन तत्पर छ।

