सरकारसँग श्रवण–दृष्टिविहीनका लागि व्यक्तिगत हेरचाहकर्ताको व्यवस्था गर्न माग
श्रवण–दृष्टिविहीन व्यक्तिहरूका अभिभावकहरूले पूर्ण असक्त अपाङ्गता भएका व्यक्तिहरूका लागि सरकारी तहबाट व्यक्तिगत हेरचाहकर्ताको व्यवस्था गर्न आग्रह गरेका छन्। १४ असार, काठमाडौं। दोस्रो अन्तर्राष्ट्रिय श्रवण–दृष्टिविहीन दिवसको अवसरमा बहिरा–दृष्टिविहीन अभिभावक समाज, नेपाल नेत्रहीन संघ, राष्ट्रिय बहिरा महासंघ, नेपाल अपाङ्ग महिला संघ तथा अपाङ्गता भएका महिला महासंघ नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनीहरुले यस्ता मागहरू राखेका थिए।
खोटाङकी जलजला राई र समाजका अध्यक्ष लाक्पा नुरु शेर्पाले आफ्ना श्रवण–दृष्टिविहीन छोराछोरीलाई चौबिसै घण्टा हेरचाह गर्नुपर्ने बाध्यता रहेको अनुभूति सुनाएका थिए। यस्ता परिवारका लागि सरकारी सहयोग आवश्यक रहेको उनीहरूको भनाइ थियो। कार्यक्रममा रानीपोखरी परिक्रमा र्याली पनि आयोजना गरिएको थियो भने सहभागीहरूले अपाङ्गता भएका व्यक्तिहरूको मानवअधिकार संरक्षण, आवश्यक नीति निर्माण तथा प्रभावकारी कार्यान्वयनको माग गरेका थिए।
राष्ट्रिय सभा सदस्य पदम परियारले अपाङ्गता सम्बन्धी ऐन संशोधन मार्फत व्यक्तिगत सहयोगी सेवालाई कानुनी व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रतिनिधि सभा सदस्य प्रेम वयकले श्रवण–दृष्टिविहीन व्यक्तिको पहिचान र अधिकारका विषयमा समाजमा अझै पर्याप्त जानकारी नपुगेको बताए। जनगणना २०७८ अनुसार नेपालमा श्रवण–दृष्टिविहीन अवस्था भएका १०,१८७ जना रहेका छन्। तर बहिरा–दृष्टिविहीन अभिभावक समाजको सम्पर्कमा हाल लगभग २०० जना मात्रै रहेको समाजले जनाएको छ।

