स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कूलले फ्रान्सको पेरिसमा आयोजना हुन लागेको वर्ल्ड गेम्सका लागि आफ्नो फुटबल टोलीलाई औपचारिकरूपमा बिदाइ गर्यो। टोलीमा सात जना खेलाडीहरू सहित प्रशिक्षक पुष्प बिष्ट रहेका छन्, जसमा साक्षत नेपाल पनि समावेश छन्। प्रतियोगिता असार २३ देखि सुरु हुने हुँदा खेलाडीहरूले असार २१ मा फ्रान्स प्रस्थान गर्ने तय छ।
स्वस्तिश्री गुरुकुलको फुटबल टोली पेरिस वर्ल्ड गेम्समा भाग लिन लागेको छ। असार २३ बाट शुरू हुन लागेको उक्त प्रतियोगितामा सहभागिता जनाउन जाने टोलीलाई आइतबार शुभकामनासहित बिदाइ गरिएको हो। टोलीमा समावेश खेलाडीहरू हुन्: साक्षत नेपाल, वाङदु दोर्जे गुरुङ, श्रियांश श्रेष्ठ, अर्नवराज भारती, आह्वान शाक्य, विहान खड्गी र लिसान श्रेष्ठ।
फुटबल प्रतियोगिता ७ जुलाईदेखि १० जुलाईसम्म आयोजना गरिनेछ। टोलीलाई बिदाइ गर्न फ्रान्स दूतावासकी डेपुटी चिफ अफ मिसन एल्सा क्याली, विद्यालयका अध्यक्ष रामकृष्ण चित्रकार, प्रबन्ध निर्देशक मिना महर्जन, प्रिन्सिपल नेहा केसी लगायत विभिन्न व्यक्तिहरू उपस्थित थिए। अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्न लागेको स्वस्तिश्री फुटबल टोलीलाई सफलताको कामना गरिएको छ।

