मंगलबार बिहान अमेरिकाको बोस्टन स्टेडियममा भएको राउण्ड अफ ३२ को खेलमा दक्षिण अमेरिकी राष्ट्र पाराग्वेले जर्मनीलाई सडन डेथ पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गरेको छ। निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट तय गरिएको थियो। पाराग्वेका जोसे क्यानालेले निर्णायक पेनाल्टी गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाएका छन्। जर्मनीको यात्रा यसै चरणबाट समाप्त भएको छ। १६ असार, काठमाडौं।
चार पटकको विश्वकप विजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पाराग्वेले फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। पाराग्वेले अब फ्रान्स र स्वीडेनबीचको विजेतासँग अन्तिम १६ मा खेल्नेछ। जर्मनी, यो विश्वकपबाट बाहिरिने दोस्रो पूर्व विजेता बनेको छ। पेनाल्टी सुटआउटमा पाराग्वेका माउरिसियो, गोस्ताभो गोमेज, माथियस गालार्जा र जोसे क्यानाले गोल गरेका थिए। जर्मनीका कप्तान जोसुआ किम्मिच, जमाल मुसिएला र नादियम अमेरिकीले गोल गरेका थिए।
सुरुवाती पाँच पेनाल्टी प्रहारमा दुवै टिमका गोलकिपरले दुई-दुई पेनाल्टी बचाउँदा स्कोर ३-३ बराबर थियो। त्यसपछि छैटौं पेनाल्टी प्रहार गरेका जर्मनीका ताहाको प्रहार पोस्टमाथिबाट बाहिरियो र जोसे क्यानालेले पाराग्वेका लागि निर्णायक पेनाल्टी गोल गरे। सन् २०१४ को ब्राजिल विश्वकपमा उपाधि जितेसँगै जर्मनीले नकआउट चरणमा जित्न सकेको छैन। पाराग्वेले दोस्रो पटक विश्वकपमा नकआउट खेल जितेको हो।

