Skip to main content

जर्मनीको कल्याण केन्द्रमा गोली चल्दा ६ जनाको मृत्यु

जर्मनीको एक कल्याण केन्द्रमा ४५ वर्षीया व्यक्तिले गोली चलाउँदा ६ जना कर्मचारीको मृत्यु भएको छ। आन्तरिक मामिला मन्त्री डानिएला बेहेरेन्सका अनुसार, तीन महिनाकी छोरीको अभिभावकत्व विवादका कारण यो घटना भएको हो। प्रहरीले गोली चलाउने संदिग्धसहित तीन जनालाई पक्राउ गरिसकेको छ र थप कुनै खतरा नरहेको जानकारी दिएको छ।

१६ असार, काठमाडौं। जर्मनी प्रहरीले जनाएअनुसार, तीन महिनाकी छोरीको अभिभावकत्व विवादमा झगडा हुँदा ती व्यक्तिले गोली चलाएका थिए जसमा चार महिला र दुई पुरुषको मृत्यु भयो। मृतक सबै उक्त कल्याण केन्द्रका कर्मचारी थिए। घटना हुँदा तीन महिनाकी शिशु र उनकी आमा कार्यालय भित्रै थिए तर उनीहरूलाई कुनै चोटपटक लागेन, अधिकारीहरूले बताए।

प्रहरीका अनुसार स्थानीय समयअनुसार दिउँसो १२:१० बजे पहिलो पटक युवा कल्याण केन्द्रमा गोली चलेको खबर आएको थियो। चार महिला र एक पुरुषलाई केन्द्र भित्रै गोली हानी हत्या गरिएको थियो भने अर्को एक जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भयो। ल्युनेबर्ग प्रहरी प्रमुख काथ्रिन शुलका अनुसार संदिग्ध ४५ वर्षीय टर्की मूलका व्यक्ति हुन्। उनी जर्मनीमै जन्मिएका र हानोवरमा बसोबास गर्थे।

सोमबार आफ्नी छोरीको अभिभावकत्व विषयमा छलफल गर्न ती व्यक्ति कल्याण केन्द्रमा आएका थिए र धेरै पीडितहरूसँग भेटघाट गर्ने समय तय गरिएको थियो। शुलले भनिन् कि उनी धम्की सम्बन्धी घटनाका कारण प्रहरी निगरानीमा त थिए तर ‘हिंसात्मक व्यक्ति’ भने थिएनन्। घटनापछि संदिग्ध एक महिलाले चलाएको कारमा चढेर घटनास्थलबाट फरार भएका थिए।