नर्वेले फिफा विश्वकपमा पहिलो पटक नकआउट चरणमा जीत हासिल गर्दा, स्ट्राइकर एर्लिङ हालान्डले यसलाई ऐतिहासिक क्षण भएको बताएका छन्। फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेपछि नर्वेका स्ट्राइकर एर्लिङ हालान्डले यो क्षणलाई ऐतिहासिक र अचम्म लाग्ने बताएको छन्। आइभरी कोष्टलाई २–१ ले हराउँदै नर्वे २८ वर्षपछि विश्वकपको नकआउट चरणमा पुगेको छ र अब अर्को चरणमा ब्राजिलसँग भिड्नेछ।
हालान्डले यस विश्वकपमा अहिलेसम्म ५ गोल गरिसकेका छन् र अबका खेलहरू स्वतन्त्र मनोभावले खेल्ने र टिमका लागि जे हुन्छ त्यो बोनस हुने बताए। उनले भने, “यो इतिहास हो, यो अद्भुत महसुस भइरहेको छ। हामी २८ वर्षपछि पहिलोपटक छनोट हुन सफल भयौं। समूह चरण पार गर्न सफल भयौं र अब अर्को चरणमा पुगेर न्युयोर्कमा ब्राजिलको सामना गर्न पाएका छौं।”
“यो अविश्वसनीय छ, त्यसैले अब जे हुन्छ त्यो बोनस हुनेछ। अब हामी बिना कुनै दबाब आनन्दका साथ खेल्न सक्छौं किनभने मलाई लाग्दैन हामीले यो अनुभव फेरि कहिल्यै पाउनेछौं,” उनले थपे। राउन्ड अफ ३२ मा आइभरी कोष्टलाई २–१ ले पराजित गर्दै नर्वे अन्तिम १६ मा प्रवेश गरेको थियो। १–१ बराबरीको अवस्थामा हालान्डले निर्णायक गोल गरी टोलीलाई जित दिलाएका थिए।

