जर्सी बेचेर पारिवारिक खर्च जुटाएका गिल, जर्मनीलाई परास्त गर्दै विश्वकप नायक बने
पाराग्वेको गोलरक्षक ओरलान्डो गिलले जर्मनीविरुद्धको पेनाल्टी सुटआउटमा दुई प्रहार बचाउँदै टोलीलाई फिफा विश्वकप २०२६ को नकआउट चरणमा ऐतिहासिक जित दिलाएका छन्। परिवारको उपचार खर्च जुटाउन खेल सामग्री बेच्न बाध्य भएका २६ वर्षीय गिलले उत्कृष्ट प्रदर्शन गर्दै ‘प्लेयर अफ द म्याच’ अवार्ड जितेका छन्। अस्पतालमा उपचाररत आफ्ना भतिजा अलेक्जेन्डरलाई सम्झँदै उनले भने, ‘अलेक्जेन्डर, यो अवार्ड तिम्रो लागि हो। छिट्टै निको होऊ। तिम्रो गडफादर टाढाबाट पनि तिम्रो साथमा छ।’
केही वर्षअघि परिवारको खर्च धान्न आफ्नै जर्सी र फुटबल सामग्री बेच्न बाध्य भएका पाराग्वेका गोलरक्षक ओरलान्डो गिल अहिले फिफा विश्वकप २०२६ का नायक बनेका छन्। जर्मनीविरुद्ध राउन्ड अफ ३२ को खेलमा ६ फिट ६ इन्च अग्ला गिलले पेनाल्टी सुटआउटमा दुई प्रहार बचाउँदै पाराग्वेलाई विश्वकप इतिहासकै दोस्रो नकआउट जित दिलाए। उत्कृष्ट प्रदर्शनपछि उनले ‘प्लेयर अफ द म्याच’ अवार्ड पनि जिते। २६ वर्षीय गिलले जनवरी २०२५ सम्म सिनियर क्लब फुटबलमा जम्मा तीन खेल मात्रै खेलेका थिए। तर अहिले उनी विश्वकपकै उत्कृष्ट गोलरक्षकमध्ये एकका रूपमा चिनिएका छन्।
गिलले पाराग्वेका क्लब १३ दे जुनियोर र सीएस सान लोरेन्जोको युवा टोलीबाट खेल्दै सन् २०१९ मा यू–२० दक्षिण अमेरिकी च्याम्पियनसिपका लागि राष्ट्रिय टोलीमा स्थान बनाएका थिए। उनले सन् २०२० मा सिनियर टोलीबाट डेब्यु गरे पनि त्यसपछि लामो समय अवसर पाएनन्। सन् २०२२ मा उनकी पत्नी मेलिसा अवालोस गर्भवती भइन्। बच्चा समयभन्दा पहिले जन्मिने अवस्था आएपछि पत्नीको जटिल शल्यक्रिया गर्नुपर्यो भने नवजात छोरा लाउटारोलाई सघन उपचार कक्ष (आईसीयू) मा राख्नुपर्यो। त्यो कठिन समयमा परिवारको उपचार खर्च जुटाउन गिलले आफ्ना खेल सामग्री, जुत्ता र पाराग्वे यू–२० टोलीको स्मरण स्वरूप राखेको जर्सीसमेत बेच्नुपरेको थियो।
छोराको जन्म भएको करिब एक वर्षपछि अर्जेन्टिनी शीर्ष डिभिजन क्लब सान लोरेन्जोले उनलाई ऋण सम्झौतामा अनुबन्ध गर्यो। सन् २०२४ मा रिजर्भ टोलीबाट खेलेका गिल सन् २०२५ मा पहिलो रोजाइका गोलरक्षक बने र त्यही प्रदर्शनका आधारमा पाराग्वेका प्रशिक्षक गुस्ताभो अल्फारोको नजरमा परे। मार्च र जुनमा राष्ट्रिय टोलीमा बोलाइएका गिलले सेप्टेम्बरमा पेरुविरुद्ध विश्वकप छनोटको अन्तिम खेलबाट सिनियर अन्तर्राष्ट्रिय डेब्यू गरे। त्यसपछि पाँच मैत्रीपूर्ण खेल खेलेर उनले विश्वकपभन्दा पहिले पहिलो रोजाइको गोलरक्षकको स्थान सुरक्षित बनाए। विश्वकपको पहिलो खेलमा अमेरिकासँग ४–१ ले पराजित भए पनि त्यसयता गिलले तीन खेलमा अतिरिक्त समयसहित केवल एक गोल मात्र खाएका छन्। उनले विपक्षीका १७ अन टार्गेट प्रहारमध्ये १६ वटा बचाएका छन्। जर्मनीविरुद्धको पेनाल्टी सुटआउटमा दुई उत्कृष्ट बचाउ गर्दै पाराग्वेलाई अगाडि पुर्याएका गिलले ‘प्लेयर अफ द म्याच’ अवार्ड आफ्ना परिवारलाई समर्पण गरेका छन्। विशेषगरी अस्पतालमा उपचाररत आफ्ना भतिजा अलेक्जेन्डरलाई सम्झँदै उनले भने, ‘अलेक्जेन्डर, यो अवार्ड तिम्रो लागि हो। छिट्टै निको होऊ। तिम्रो गडफादर टाढाबाट पनि तिम्रो साथमा छ।’ परिवार बचाउन आफ्ना सबै सम्झनाहरू बेच्न बाध्य भएका गिल अहिले भने विश्व फुटबलकै सबैभन्दा ठूलो मञ्चमा पाराग्वेको आशा बनेर चम्किरहेका छन्।

