Skip to main content

मेक्सिकोको घरेलु मैदानमा गौरव, ४० वर्षपछि नकआउट चरणमा पहिलो जित

मेक्सिको सिटीस्थित एस्टाडियो अज्टेकामा बुधबार बिहान सम्पन्न खेलमा मेक्सिकोले इक्वेडरलाई २–० गोल अन्तरले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुनिश्चित गरेको छ। मेक्सिकोले सन् १९८६ पछि पहिलोपटक नकआउट चरणमा जित हासिल गर्दै ४० वर्षे प्रतीक्षा तोडेको छ।

खेलको २१औं मिनेटमा जुलियन क्विनोनेसले पहिलो गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाए भने ३१औं मिनेटमा राउल जिमेनेजले दोस्रो गोल गरेर टोलीको जित सुनिश्चित गरे। इक्वेडरले बल नियन्त्रण राम्रो गरे पनि गोल गर्न असमर्थ रह्यो।

जुलियन विश्वकपका तीन फरक खेलमा गोल गर्ने मेक्सिकोका दोस्रो खेलाडी बनेका छन्। यसअघि लुइस हर्नान्डेजले सन् १९९८ मा तीन खेलमा गोल गरेका थिए। मेक्सिकोले समूह चरणमा दक्षिण अफ्रिका, दक्षिण कोरिया र चेक रिपब्लिकमाथि विजय प्राप्त गर्दै नकआउट चरणमा प्रवेश गरेको हो। अब क्वार्टरफाइनल प्रवेशका लागि मेक्सिकोले इंग्ल्याण्ड र डीआर कंगोको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।