Skip to main content

अमेरिकी सर्वोच्च अदालतले ट्रम्पको जन्मसिद्ध नागरिकता समाप्त गर्ने प्रस्ताव खारेज गर्यो

१६ असार, काठमाडौं। अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमार्फत अमेरिकामा जन्मसिद्ध नागरिकता (‘ब्राइट राइट सिटिजनसिप’) समाप्त गर्ने प्रयास अस्वीकृत गरेको छ। अदालतले एक शताब्दीभन्दा बढी समयदेखि चलिरहेको कानुनी परम्परा र संवैधानिक अभ्यासलाई पुनः पुष्टि गर्दै अमेरिकामा जन्मेका शिशुहरूलाई स्वतः अमेरिकी नागरिक बनाउने व्यवस्था कायम राखेको छ। ट्रम्पले आफ्नो कार्यभारको पहिलो दिन जारी गरेको उक्त आदेशलाई कायम राख्न अदालतसँग आग्रह गरेका थिए। यस मुद्दाको मौखिक बहसमा सहभागी हुने उनी पदमा रहेका पहिलो अमेरिकी राष्ट्रपति बनेका थिए।

प्रधानन्यायाधीश जोन रोबर्टसले निर्णय लेख्दै भने, ‘नागरिकता भनेको अधिकारहरू प्राप्त गर्ने अधिकार हो—हाम्रो राजनीतिक समुदायमा स्वतन्त्र रूपमा सहभागी हुने अधिकार। चौधौं संशोधनका निर्माताहरूले यो प्रतिज्ञा यस भूमिमा स्वतन्त्र रूपमा जन्मिने प्रत्येक व्यक्तिसम्म विस्तार गरेका थिए। आज हामी त्यही प्रतिज्ञालाई कायम राख्दैछौं।’ निर्णयप्रति न्यायधीश क्लेरेन्स थोमस, नेल गोर्सच र स्यामुअल अल्टिटोले असहमति व्यक्त गरेका छन्। थोमस र गोर्सचले तर्क गरेका छन् कि संविधान वा संघीय कानुनले अमेरिकामा स्थायी बसोबास नगर्ने व्यक्तिहरूका सन्तानलाई स्वतः नागरिकता सुनिश्चित गरेको छैन।

ट्रम्प प्रशासनले दावी गरेको थियो कि अवैध रूपमा बसोबास गर्दै आएका आप्रवासी, पर्यटक वा विदेशी विद्यार्थीका सन्तान चौधौं संशोधनअन्तर्गत अमेरिकी नागरिक बन्न योग्य नहुने हुन्। उक्त संशोधन अमेरिकी गृहयुद्धपछि पूर्वदास तथा तिनका सन्तानको कानुनी हैसियत सुनिश्चित गर्न १८६८ मा लागू गरिएको थियो। यस नीतिको विरोध गर्ने आप्रवासी अधिकारकर्मी र नागरिक स्वतन्त्रता पक्षधर समूहहरूले यस व्यवस्था लागू भए हरेक वर्ष गैर-नागरिक अभिभावकबाट जन्मेका लाखौं बालबालिका प्रभावित हुने चेतावनी दिएका थिए, साथै जन्म प्रमाणपत्र मात्रलाई आधार मानी नागरिकता प्रमाणित गर्ने अभ्यास समाप्त हुँदा ठूलो प्रशासनिक समस्या उत्पन्न हुने पनि बताएका थिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ