सर्वोच्च अदालतले ट्रम्पको जन्मसिद्ध नागरिकता समाप्त गर्ने प्रयास अस्वीकृत गर्यो
१६ असार, काठमाडौं । अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमार्फत अमेरिकामा जन्मसिद्ध नागरिकता (‘ब्राइट राइट सिटिजनसिप’) समाप्त गर्ने प्रयास अस्वीकृत गरेको छ । अदालतले एक शताब्दीभन्दा लामो कानुनी परम्परा र संवैधानिक अभ्यासलाई पुनः पुष्टि गर्दै अमेरिकामा जन्मिएका शिशुहरूलाई स्वतः अमेरिकी नागरिक बनाउने व्यवस्था कायम राखेको छ । ट्रम्पले आफ्नो कार्यभारको पहिलो दिन जारी गरेको उक्त आदेशलाई कायम राख्न अदालतसँग आग्रह गरेका थिए । यस मुद्दाको मौखिक बहसमा सहभागी हुने उनी पदमा रहेका पहिलो अमेरिकी राष्ट्रपति बनेका थिए ।
प्रधानन्यायाधीश जोन रोबर्टसले निर्णय लेख्दै भने, ‘नागरिकता भनेको अधिकारहरू प्राप्त गर्ने अधिकार हो—हाम्रो राजनीतिक समुदायमा स्वतन्त्र रूपमा सहभागी हुने अधिकार । चौधौं संशोधनका निर्माताहरूले यो प्रतिज्ञा यस भूमिमा स्वतन्त्र रूपमा जन्मिने प्रत्येक व्यक्तिसम्म विस्तार गरेका थिए । आज हामी त्यही प्रतिज्ञालाई कायम राख्दैछौं ।’ निर्णयप्रति न्यायाधीश क्लेरेन्स थोमस, नेल गोर्सच र स्यामुअल अल्टिटोले असहमति व्यक्त गरेका छन् । थोमस र गोर्सचले तर्क गरेका छन् कि संविधान वा संघीय कानुनले अमेरिकामा स्थायी बसोबास नगर्ने व्यक्तिहरूका सन्तानलाई स्वतः नागरिकता सुनिश्चित गरेको छैन ।
ट्रम्प प्रशासनको अनुसार अवैध रूपमा बसोबास गर्दै आएका आप्रवासी, पर्यटक वा विदेशी विद्यार्थीका सन्तान चौधौं संशोधनअन्तर्गत अमेरिकी नागरिक बन्न योग्य नहुने दावी थियो । उक्त संशोधन अमेरिकी गृहयुद्धपछि पूर्वदास तथा तिनका सन्तानको कानुनी हैसियत सुनिश्चित गर्न १८६८ मा लागू गरिएको थियो । यस नीतिको विरोध गर्ने आप्रवासी अधिकारकर्मी र नागरिक स्वतन्त्रता पक्षधर समूहहरूले यस व्यवस्था लागू भए हरेक वर्ष गैर-नागरिक अभिभावकबाट जन्मेका लाखौं बालबालिका प्रभावित हुने चेतावनी दिएका थिए, साथै जन्म प्रमाणपत्र मात्रलाई आधार मानी नागरिकता प्रमाणित गर्ने अभ्यास समाप्त हुँदा ठूलो प्रशासनिक समस्या उत्पन्न हुने उल्लेख गरेका थिए ।

