क्रिएटिन सप्लिमेन्टले डिप्रेसन उपचारमा सहयोग पुर्याउन सक्छ: नयाँ अनुसन्धान
नयाँ अनुसन्धानअनुसार जिममा लोकप्रिय क्रिएटिन सप्लिमेन्टले डिप्रेसनको उपचारमा सहयोग पुर्याउन सक्छ। युनिभर्सिटी अफ ओटावाका वैज्ञानिकहरूले मस्तिष्कको ऊर्जा आपूर्तिको प्रणाली सुधार्दै क्रिएटिनले मानसिक स्वास्थ्यमा सकरात्मक प्रभाव पार्ने बताएका छन्। यद्यपि, वैज्ञानिकहरूले अझै विस्तृत क्लिनिकल परीक्षण आवश्यक रहेको र क्रिएटिनको सुरक्षा बारे सावधानी अपनाउनुपर्ने चेतावनी दिएका छन्।
सामान्यतया जिम जाने र मांसपेशी निर्माण गर्नेहरूमा अत्यन्त लोकप्रिय रहेको ‘क्रिएटिन’ सप्लिमेन्ट डिप्रेसन (डिप्रेसिभ डिसअर्डर) को उपचारमा पनि सहयोग पुर्याउन सक्ने नयाँ अनुसन्धानले देखाएको छ। मस्तिष्कको ऊर्जा आपूर्तिको प्रणालीलाई प्रोत्साहन गरेर क्रिएटिनले मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्ने वैज्ञानिकहरूको भनाइ छ। हालसम्म उपलब्ध प्रमाणहरू आशाजनक देखिए पनि चिकित्साको क्षेत्रमा यसको औषधि रूपमा सिफारिस गर्न थप अनुसन्धान आवश्यक रहेको औँल्याइएको छ।
‘ब्रेन मेडिसिन’ जर्नलमा प्रकाशित एक प्रणालीगत समीक्षा अनुसार युनिभर्सिटी अफ ओटावाका अनुसन्धानकर्ताहरूले विश्वका विभिन्न देशमा भएका पाँचवटा क्लिनिकल परीक्षणहरूको विस्तृत विश्लेषण गरेका थिए। ती परीक्षणहरूमा जम्मा २३८ जना सहभागी थिए, जसमा धेरै महिला सहभागी थिए। अध्ययनका नतिजा मिश्रित देखिएका छन्। दुईवटा परीक्षणमा क्रिएटिनको प्रयोगले डिप्रेसनका लक्षणहरूमा उल्लेखनीय सुधार आएको पाइएको छ भने अन्य तीनवटामा कुनै महत्वपूर्ण लाभ देखिएको छैन।
विशेष गरी ‘मेजर डिप्रेसिभ डिसअर्डर’ भएका महिलाहरूमा गरिएको एक परीक्षणमा नियमित डिप्रेसन औषधि ‘एसिटालोप्राम’सँगै दैनिक ५ ग्राम क्रिएटिन दिन थालेपछि आठ हप्ता भित्र डिप्रेसनका लक्षणहरूमा उल्लेखनीय कमी आएको र धेरै बिरामीहरू निको भएका देखिएका छन्। तर, अन्य औषधिहरूले असर नगरेका बिरामी, किशोर किशोरी तथा बाइपोलार डिसअर्डर भएका व्यक्तिहरूमा भएको बाँकी तीनवटा परीक्षणहरूमा भने क्रिएटिनले विशेष प्रभाव देखाइएको छैन।
क्रिएटिनले डिप्रेसनसँग लड्ने मुख्य कारण मस्तिष्कको ऊर्जा आवश्यकताको प्रतिपूर्ति हो। क्रिएटिनले मांसपेशी जस्तै मस्तिष्कको कोशिकाहरूमा ऊर्जा उत्पन्न गर्ने ‘एडेनोसिन ट्राइफस्फेट’ (एटीपी) सृष्टि प्रक्रियामा तीव्रता ल्याउँछ। साथै, मुड नियन्त्रण गर्ने मस्तिष्कका रसायनहरू ‘डोपामाइन’ र ‘सेरोटोनिन’लाई पनि क्रिएटिनले प्रभावित पार्ने वैज्ञानिकहरूको अनुमान छ। विशेषज्ञहरूले डिप्रेसन उपचारमा क्रिएटिनको वास्तविक क्षमता बुझ्नका लागि अझ बढी पुरुष र महिलालाई समेटेर दीर्घकालीन र ठूलो क्लिनिकल परीक्षणहरू गर्ने आवश्यकता रहेको औँल्याएका छन्।

