आइभरी कोष्टसँगको खेलअघि काठमाडौंमा रहेको नर्वेजियन दूतावासले पनि भाइकिङ रो गर्दै सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेको थियो। विश्वकपमा २८ वर्षपछि फर्किएको नर्वेको टोलीलाई समर्थन गर्न समर्थकहरूले ‘भाइकिङ रो’ नामक विशेष सांस्कृतिक अभियान सञ्चालन गरिरहेका छन्। नर्वेका सांसदहरूले समेत संसद बैठकमा भाइकिङ रो प्रदर्शन गरेर आफ्ना खेलाडीहरूको उत्साहवर्द्धन गर्ने क्रममा राष्ट्रिय गौरवको यी अभियानमा सक्रिय सहभागिता जनाएका छन्। प्राथमिक विद्यालयका शिक्षक ओले फ्रोयस्तादले परिकल्पना गरेको यस अभियान फुटबल मैदानबाट सुरु भएर अमेरिका र युरोपका जनजीवनसम्म फैलिएको छ। न्यूयोर्कको टाइम्स स्क्वायर्समा मान्छेहरूको निकै उपस्थिति छ। यो भीड सधैंझैँ अस्तव्यस्त छैन। रातो ज्यर्सी लगाएका थुप्रै मानिसहरू सिँढीहरूमा बसेका छन्। त्यसै बीच ठूलो हर्न बज्छ। भाइकिङ शैलीको सिंहको आकृतिको टोपी लगाएका एक व्यक्तिले ड्रममा ताल झिक्छन्। त्यसपछि देखिएको दृश्य धेरैका लागि रोमाञ्चक बन्दैछ – सबै जना एकै समयमा भुइँमा बसेर काल्पनिक रूपमा डुङ्गा चलाएको अनुभव गर्दै एउटै लयमा चिच्याउँछन् – रो! रो!! रो!!! यो कुनै फिल्मको सुटिङ थिएन, न त धार्मिक अनुष्ठान थियो। यो २८ वर्षपछि विश्वकप मञ्चमा फर्किएको नर्वे टोलीको उत्साहमा जोडिन समर्थकहरूले गरेको ‘भाइकिङ रो’ थियो। अहिले नर्वेको टोलीले जितेको हरेक खेलपछि भाइकिङ रो गर्दै आएका छन्। अब यो भाइकिङ रो मैदानभित्र मात्र नभई मैदान बाहिर पनि देखिन थालेको छ। नर्वेका फ्यानहरू एक स्थानमा जम्मा हुँदा वा कुनै कार्यक्रममा भाइकिङ रो सुरु हुने गरेको छ। यत्तिकै होइन, ८ असारमा नर्वेको संसद्मा समेत सांसदहरूले भाइकिङ रो गरेर राष्ट्रिय उत्साह व्यक्त गरेका थिए। सांसदहरूले नियमित बैठक रोकेर भाइरल भएको भाइकिङ रो प्रदर्शन गरे। सदनका अध्यक्ष मासुद घाराखानीले यसको नेतृत्व गरेका थिए। उनीहरूले देश विश्वकप पुगेसँगै टोलीलाई उत्साह दिनका लागि यस्ता कदम चालेका थिए। त्यस्तै, ‘राउन्ड अफ ३२’ मा आइभरी कोष्टसँगको खेलअघि काठमाडौँस्थित नर्वेजियन दूतावासले पनि भाइकिङ रो गरेको भिडियो सामाजिक सञ्जालमा साझा गरेको थियो। विश्वकप सुरु हुनुअघि नर्वेले यसलाई ‘भाइकिङ अभियान’ नामक सांस्कृतिक कार्यक्रमको रूपमा घोषणा गरिसकेको थियो। अहिले यो अभियान अमेरिका, मेक्सिको, र क्यानडाका रंगशालामा मात्र नभई सामाजिक सञ्जाल र सडकहरूमा समेत सांस्कृतिक हुरी जस्तै फैलिरहेको छ।

