फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा आज राति फुटबल इतिहासकै एउटा स्वर्णिम युगको महाटक्कर हुँदैछ, जहाँ दुई लिजेन्डहरू – ४१ वर्षीय क्रिस्टियानो रोनाल्डो र ४० वर्षीय लुका मोड्रिच आमनेसामने हुनेछन्। सन् २००६ को जर्मनी विश्वकपदेखि आ-आफ्नो देशको जर्सीमा विश्वकप यात्रा सुरु गरेका यी दुई सुपरस्टारहरू विगत दुई दशकदेखि विश्व फुटबलको शिखरमा छन्। रियल मड्रिडमा सहकर्मीका रूपमा ४ वटा च्याम्पियन्स लिग जितेर सुनौलो इतिहास रचेका यी पुराना साथीहरू आज भने देशको अस्तित्व र विश्वकपको सपना जोगाउन एक-अर्काविरुद्ध मैदान उत्रँदै छन्।
रोचक र दुर्लभ तथ्य के छ भने, दुई दशक लामो अन्तर्राष्ट्रिय करियरका बाबजुद विश्वकपको इतिहासमा रोनाल्डो र मोड्रिच पहिलो र सम्भवतः अन्तिमपटक मैदानमा भिड्न लागेका हुन्। पाँच फरक विश्वकपमा गोल गर्ने विश्वकै एकमात्र खेलाडी रोनाल्डो र सन् २०१८ मा क्रोएसियालाई फाइनल पुर्याउँदै गोल्डेन बल र बालोन डी’ओर जितेका मिडफिल्ड विजार्ड मोड्रिचको यो ‘लास्ट डान्स’ खेलप्रेमीहरूका लागि निकै भावनात्मक र ऐतिहासिक हुने निश्चित छ। यो ‘गर या मर’ को दबाबपूर्ण खेलमा यी दुई महानायकको रणनीतिक चातुर्यता त हेर्न लायक हुने नै छ, साथै मैदानभित्र रहेका अन्य केही विशेष खेलाडीहरूको व्यक्तिगत प्रदर्शनले खेललाई जुनसुकै मोडमा पुर्याउन सक्छ।
पोर्चुगल र क्रोएसियाको यस रोमाञ्चक र ‘हाई-भोल्टेज’ नकआउट खेलमा दुवै टोलीका खेलको नतिजा बदल्न सक्ने मुख्य ‘प्लेयर्स टु वाच’ को विवरण यसप्रकार छ: पोर्चुगलका क्रिस्टियानो रोनाल्डो (स्ट्राइकर) ४१ वर्षीय यी भेट्रान स्ट्राइकर अझै पनि पोर्चुगलको आक्रमणको मुख्य केन्द्रविन्दु हुन्। जारी विश्वकपको समूह चरणमा उज्बेकिस्तानविरुद्ध दुई गोल गर्दै उनले आफ्नो भोक र लय कायमै रहेको प्रमाणित गरिसकेका छन्। नकआउट चरणको दबाबपूर्ण खेलमा उनको फिनिसिङ र उपस्थिति क्रोएसियाका लागि सबैभन्दा ठुलो खतरा हुनेछ।
क्रोएसियाका लुका मोड्रिच (मिडफिल्डर) ४० वर्षको उमेरमा पनि मैदानमा जादू छरिरहेका रियल म्याड्रिडका यी मिडफिल्ड विजार्ड क्रोएसियाका मुटु हुन्। खेलको गति नियन्त्रण गर्ने र पोर्चुगलको मिडफिल्ड प्रेसिङलाई आफ्नो सानदार ड्रिब्लिङ र पासिङले फितलो बनाउने जिम्मेवारी कप्तान मोड्रिचको हुनेछ। यस खेलमा अन्य खेलाडीहरूको प्रदर्शन पनि निर्णायक साबित हुन सक्छ।

