Skip to main content

‘ब्लु बस’ मा ट्रान्सजेन्डरको चढ्न पाउने अधिकारको प्रश्न

रवि लामिछाने सांसद निर्वाचित भएपछि ३ वर्षअघि चितवनमा सञ्चालन गरिएको ब्लु बसबारे चर्चा भइरहेका बेला, १९ असार, काठमाडौंमा महिलाका लागि सञ्चालन गर्न लागिएको ‘ब्लु बस’ सेवामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक (ट्रान्सजेन्डर) यात्रुले चढ्न पाउने कि नपाउने भन्ने प्रश्न उठेको छ। यौनिक तथा लैङ्गिक अल्पसंख्यक अधिकारकर्मी सुनिलबाबु पन्तले यस विषयलाई औँल्याएका हुन्। उनले प्रश्न गरेका छन् कि महिलाका लागि छुट्याइएको ब्लु बसमा जन्मको आधारमा पुरुष भए पनि आफूलाई महिला भनेर चिन्ने ट्रान्सवुमन तथा जन्मको आधारमा महिला भए पनि आफूलाई पुरुष भनेर चिन्ने ट्रान्सम्यानले यात्रा गर्न पाउने कि नपाउने?

फेसबुकमा आफ्नो धारणा प्रस्तुत गर्दै सुनिलबाबुले सरकारले यसका लागि स्पष्ट मापदण्ड तर्जुमा गर्नुपर्ने आवश्यकताको चर्चा गरेका छन्। उनका प्रश्नले साझा यातायातका कार्यकारी निर्देशक भूपेन्द्र अर्यालको ध्यानाकर्षण भएको उनले बताए। अर्यालले यो मुद्दा गम्भीरतापूर्वक लिइएको र सेवा सञ्चालन अघि यसका लागि तयार गरिने कार्यविधिमा स्पष्ट व्यवस्था राखिने जानकारी दिए। उनले बताएअनुसार ब्लु बस सञ्चालन गर्ने निर्णय साझा यातायातकै एकल निर्णय नभई नेपाल सरकारको १०० दिने कार्ययोजनाअन्तर्गत अघि बढाइएको कार्यक्रम हो।

सरकारले बजेट र नीतिगत व्यवस्था गर्नेछ भने साझा यातायातले आफ्नै बसमार्फत सेवा सञ्चालन गर्ने प्रक्रिया अघि बढिरहेको अर्यालले जानकारी दिए। उनले भने कि अहिले सञ्चालन मोडालिटी तयार गर्ने काम भइरहेको छ। बजेटको औपचारिक स्वीकृति र नेपाल सरकार तथा साझा यातायातबीच समझदारी (एमओयू) भएपछि मात्र सेवा सञ्चालन हुनेछ। ‘साउन १ गतेदेखि सेवा सुरु हुने चर्चा भए पनि प्राविधिक प्रक्रिया अझै पूरा भएको छैन,’ अर्यालले भने, ‘बजेटको औपचारिक सुनिश्चितता र कार्यविधि तयार भएपछि मात्र सेवा सञ्चालन हुनेछ। साउनभित्रै सेवा सुरु हुने सम्भावना प्रबल छ।’

अर्यालले ट्रान्सजेन्डर यात्रुको विषय मात्र नभई महिलासँग आउने अन्य यात्रुहरूको अवस्थाबारे पनि स्पष्ट व्यवस्था आवश्यक रहेको बताएका छन्। उनले भने, ‘यदि कुनै महिला आफ्ना श्रीमानसँग यात्रा गरिरहेकी छ भने के गर्ने? कुनै महिला पाँच–सात वर्षको छोरा लिएर चढेकी छ भने के गर्ने? कुनै वृद्ध महिला सहाराको लागि आफ्ना छोरा साथमा ल्याएकी छ भने के गर्ने? यस्ता व्यवहारिक प्रश्नहरू पनि उठेका छन्।’ अर्यालका अनुसार यस्ता सबै अवस्थालाई समेटेर व्यवहारिक कार्यविधि तयार गरिनेछ। ट्रान्सजेन्डर यात्रुहरुको हकमा कानुनी पहिचानलाई आधार बनाइनेछ। ‘यदि सम्बन्धित व्यक्तिसँग कानुनी रूपमा प्रमाणित परिचयपत्र वा सम्बन्धित कागजात छन् भने त्यसलाई आधार बनाइनेछ,’ उनले भने, ‘यो विषय समयमै उठेको भएकाले कार्यविधिमा समेटेर समाधान खोज्ने प्रयास गरिनेछ।’

कार्यविधि निर्माण प्रक्रियामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायसहित सरोकारवाला पक्षबाट आएका सुझावहरूलाई पनि समेटिने अर्यालले बताए। ‘प्रश्न उठेपछि यसको समाधान गर्नु आवश्यक छ। अहिले आएका सबै गुनासा र सुझावलाई समेटेर व्यवहारिक र समावेशी कार्यविधि बनाउनेतर्फ हामी अघि बढिरहेका छौं,’ उनले थपे। साझा यातायातका अनुसार सरकारले आवश्यक समझदारीपत्रमा हस्ताक्षर गरेपछि अन्तिम कार्यविधि सार्वजनिक गरिनेछ र त्यसपछि मात्र ब्लु बस सेवा सञ्चालनमा ल्याउने तयारी हुनेछ।