फ्रान्समा जुन महिनाको अन्तिम हप्तामा देखा परेको अभूतपूर्व गर्मीका कारण मृत्यु हुने व्यक्तिको संख्या करिब ३० प्रतिशतले वृद्धि भएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ। सार्वजनिक स्वास्थ्य निकायले यो वृद्धि अझै पूर्ण विवरण नआँउँदासम्म वास्तविक संख्या यसभन्दा बढी हुन सक्ने जनाएको छ। पब्लिक हेल्थ फ्रान्सका अनुसार जुन २२ देखि सुरु भएको हप्तामा अघिल्लो हप्ताको तुलनामा दुई हजार २५ जना बढीले मृत्यु भएको छ। यो २९.१ प्रतिशतको वृद्धि हो। संस्थाले बताए अनुसार हाल उपलब्ध तथ्याङ्क अपूर्ण भएकाले वास्तविक प्रभाव अझ गम्भीर हुन सक्नेछ। सबैभन्दा बढी प्रभाव पेरिस क्षेत्रमा परेको देखिएको छ। पेरिसमा सोही अवधिमा मृत्यु ६२ प्रतिशतले वृद्धि भएको छ। पेस डे ला लोयर क्षेत्रमा पनि उल्लेखनीय वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ।
गत जुन महिनामा फ्रान्सले लगभग ११ दिनसम्म चल्ने इतिहासकै तीव्र गर्मीको लहर सामना गरेको थियो। देशका धेरै स्थानमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो। यस घटनापछि जलवायु परिवर्तनसँग जुध्न सरकारले प्रभावकारी तयारी नगरेको भन्दै केही राजनीतिक दलले आलोचना गरेका छन्। हरित दलले यस विषयमा सरकारविरुद्ध अविश्वास प्रस्ताव समेत दर्ता गरेको छ। स्वास्थ्यमन्त्री स्टेफनी रिस्टले यसपटकको अवस्था सन् २००३ को विनाशकारी गर्मीको लहरसँग सिधा तुलना गर्न नमिल्ने बताउनुभएको छ। सन् २००३ को गर्मीले फ्रान्समा करिब १५ हजार जनाको मृत्यु गरेको थियो, जसमा अधिकांश वृद्धवृद्धा थिए। पेरिस सार्वजनिक अस्पताल प्रणालीका महानिर्देशक निकोलस रेभेलले यस वर्षको गर्मीका कारण हुने कुल मृत्यु सन् २००३ भन्दा कम हुने अपेक्षा गरिएको भए पनि गत वर्षकै गर्मीको घटनाको तुलनामा बढी हुन सक्ने ब्याख्या गर्नुभयो।

