Skip to main content

जोकोभिचले फेडेरेरको कीर्तिमान बराबरी गर्दै विम्बल्डनको अन्तिम १६ मा प्रवेश गरे

१९ असार, काठमाडौं । सर्बियाका स्टार टेनिस खेलाडी नोभाक जोकोभिचले रोजर फेडेरेरको विम्बल्डन पुरुष एकलमा सर्वाधिक जितको कीर्तिमान बराबरी गर्दै प्रतियोगिताको अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन्। सात पटकका विम्बल्डन च्याम्पियन जोकोभिचले फ्रान्सका आर्थर रिन्डरक्नेखलाई कडा प्रतिस्पर्धामा पराजित गर्दै चौथो चरणमा प्रवेश गरेको हुन्। जोकोभिच ७-५, ६-४, १-६ र ७-६(७-४) ले विजयी भए। यस जितसँगै उनले विम्बल्डनमा पुरुष एकलतर्फ १०५ औं जित दर्ता गर्दै स्विट्जरल्यान्डका रोजर फेडेरेरको कीर्तिमानसँग बराबरी गरेको छ। अब अर्को खेल जित्न सके उनी १०६ जितसहित विम्बल्डन पुरुष एकल इतिहासका सर्वाधिक जित हासिल गर्ने खेलाडी बन्नेछन्।

खेलपछि प्रतिक्रिया दिँदै जोकोभिचले अन्त्यमा जित निकाल्न सीपसँगै केही भाग्यको पनि साथ आवश्यक रहेको बताए। ‘अन्त्यमा केही भाग्य र केही सीप दुवै चाहियो। टाइब्रेकरमा मैले लगभग त्रुटिरहित खेलेँ। नियन्त्रणमा रहेका सबै पक्षमा मैले सकेसम्म राम्रो प्रदर्शन गरें,’ उनले बताए। जोकोभिचले आफ्नो सर्भ धेरै उत्कृष्ट रहेको उल्लेख गर्दै टाइब्रेकरमा केही कठिनाइ भए तापनि त्यसको श्रेय प्रतिद्वन्द्वीको प्रदर्शनलाई दिएका छन्। ‘उनी निकै अग्ला छन्, उत्कृष्ट सर्भ गर्छन् र आजको प्रदर्शनका लागि प्रशंसकका पात्र छन्,’ उनले भने। रिन्डरक्नेखलाई पहिलो पटक सामना गरेका जोकोभिचले ठूलो मञ्चमा प्रतिस्पर्धी सहज खेलाडी रहेको बताएका छन्। जोकोभिचले क्वार्टरफाइनल प्रवेशका लागि रसियाका रोमान साफुलिनसँग खेल्ने भएका छन्। आजै भएको अर्को खेलमा साविक विजेता यानिक सिनरले अमेरिकी खेलाडी जेन्सन ब्रुक्सबीलाई ६-४, ६-३ र ६-४ को सोझो सेटमा पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेका छन्।