सुदूरपश्चिम रोयल्सले रेड बुलसँग तीन वर्षसम्म मुख्य प्रायोजकको रूपमा सम्झौता गरेको शुक्रबार पुष्टि गरेको छ। १९ असार, काठमाडौं। रेड बुल नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक बनेको छ। सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्का र सारस बेभरेज (रेड बुल) का प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले शुक्रबार सम्झौतामा हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार रेड बुलले आगामी तीन वर्षसम्म सुदूरपश्चिम रोयल्सलाई साथ दिनेछ।
एनपीएलका सबैभन्दा लोकप्रिय तथा ठूलो समर्थक समूह भएका फ्रेन्चाइजमध्ये एक रहेका सुदूरपश्चिम रोयल्स दुई पटक उपविजेता बनेको टोली हो। युवामाझ लोकप्रिय ब्राण्ड रेड बुलसँगको सहकार्यले टोलीको व्यावसायिक विस्तारसँगै ब्राण्डको पहुँच र पहिचानलाई अझ बलियो बनाउने दुवै पक्षको विश्वास छ। ‘रेड बुलजस्तो विश्वप्रसिद्ध ब्राण्डलाई मुख्य प्रायोजकका रूपमा स्वागत गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौं,’ सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्काले भने।
‘यो साझेदारीले सुदूरपश्चिम रोयल्सको व्यावसायिक यात्रालाई थप मजबुत बनाउने साथै नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउन सहयोग गर्नेछ,’ खड्काले मुख्य प्रायोजक सम्झौतासँगै तेस्रो सिजनको तयारीको सुरुवात भएको पनि बताए। सारस बेभरेज (रेड बुल) का प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले सुदूरपश्चिम रोयल्सजस्तो ठूलो समर्थक समूह, निरन्तर उत्कृष्ट प्रदर्शन र युवामाझ विशेष लोकप्रियता हासिल गरेको टोलीसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गरेका छन्।
उनीहरूले रेड बुल र सुदूरपश्चिम रोयल्स दुवैले ऊर्जा, जोश र उत्कृष्टताको भावना बोकेको उल्लेख गर्दै यो साझेदारीले टोलीमा थप ऊर्जा भर्ने र व्यावसायिक रूपमा रेड बुललाई अझ सशक्त बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। दुवै पक्षले यस सहयोगले नेपाली क्रिकेटको व्यावसायिक विकास, खेलकुद मार्केटिङको विस्तार तथा एनपीएलको ब्राण्ड मूल्य अभिवृद्धिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरेका छन्।

