Skip to main content

रुसले अन्तरिक्ष यात्रीहरूका लागि चन्द्रमाको सतहमा काम गर्ने तालिम दिने ‘लुनार टेस्ट साइट’ बनाउँदैछ

रुसको फेडरल मेडिकल एण्ड बायोलोजिकल एजेन्सी (एफएमबीए) ले चन्द्रमाको सतहमा काम गर्न अन्तरिक्ष यात्रीहरूलाई तालिम दिनका लागि जमिनमा आधारित विशेष नमुना क्षेत्र—‘ग्राउन्ड-बेस्ड एनालग कम्प्लेक्स’ निर्माण गरिरहेको छ। एफएमबीएको एक अधिकारीले रूसी समाचार संस्था टासलाई यसबारे जानकारी दिएका छन्। उक्त अधिकारीले टासलाई भने, ‘एफएमबीएको अन्तरिक्ष चिकित्सा र जीवविज्ञान केन्द्रले यो क्षेत्र विकास गर्दैछ र यसलाई रुसको अन्तरिक्ष उद्योगको एक रणनीतिक प्राथमिकताका रूपमा लिइएको छ। विशेष गरी, उनीहरू “लुनार टेस्ट साइट” निर्माणमा सक्रिय छन्, जसले चन्द्रमाको सतहजस्तै वातावरण सिर्जना गर्नेछ र अन्तरिक्ष यात्रीहरूलाई त्यहाँ काम गर्ने तालिम प्रदान गर्नेछ।’

यस केन्द्रमा अन्तरिक्ष यात्रीहरूले यानबाहिर हुने गतिविधिहरूको अभ्यास गर्नेछन्। यसमा यानबाट बाहिर निस्कन, लक लगाउने, उपकरण मर्मतसम्भार तथा नवीकरण गर्ने, र बस्ने मोड्युलमा फर्केपछि चन्द्रमाको धुलो सफा गर्ने जस्ता आवश्यक सीप सिकाइनेछ। चन्द्रमाको सूक्ष्म धुलोको प्रभावसँग जुध्न उपाय विकास गर्न, आपत्कालीन अवस्थाका लागि प्रोटोकल तयार पार्न, र दीर्घकालीन तनावका बीच मानव स्वास्थ्य मूल्याङ्कन गर्न यस केन्द्रमा छुट्टै एकाइ प्रस्ताव गरिएको छ। यसमा मनोवैज्ञानिक पक्ष र चालक दलको टिमवर्क परीक्षणसमेत गरिनेछ।

त्यसैगरी, उडानका क्रममा अन्तरिक्ष यात्रीहरूको सेन्सरी र भेस्टिबुलर प्रणालीलाई अनुकूल बनाउन एफएमबीएले विशेष सिमुलेटरहरू विकास गरिरहेको छ। चन्द्रमामा पुरै काम सुरु गर्न सक्ने तयारिमा चालक दलको तत्परता मूल्याङ्कन गर्ने विधिहरू पनि विकसित हुँदैछन्। परियोजनाको जटिलतालाई समेट्दै ती अधिकारीले भनेका छन्, ‘यो चिकित्सा, शरीर विज्ञान र इञ्जिनियरिङको त्रिवेणी हो, जसमा रुसको एफएमबीसँग देशभित्रै विशिष्ट क्षमता उपलब्ध छन्।’