२१ असार, काठमाडौं । अमेरिकाले यस वर्ष आफ्नो स्वतन्त्रताको २५० औं वर्षगाँठ देशभरि ऐतिहासिक ‘अमेरिका २५०’ उत्सवको रूपमा मनाइरहेको छ। ४ जुलाई १७७६ मा उत्तर अमेरिकाका १३ बेलायती उपनिवेशहरूले स्वतन्त्रताको घोषणा गरी बेलायतबाट अलग हुने निर्णय गरेका थिए। त्यसै ऐतिहासिक दिनको सम्झनामा शनिबार ५० वटै राज्यहरूमा परेड, सांगीतिक कन्सर्ट र आतसबाजीसहित भव्य कार्यक्रमहरू आयोजना गरिएका थिए। यद्यपि, खराब मौसम, भीषण गर्मी र आँधीबेहरीले केही स्थलहरूमा कार्यक्रमहरूमा बाधा पुर्याएको थियो। बाबजुद लाखौं मानिसहरूले उत्सवमा सहभागिता जनाएका छन्।
खराब मौसमका कारण वासिङ्टन र फिलाडेल्फियामा अवरोध राजधानी वासिङ्टन डीसीस्थित नेसनल मलमा आयोजित ह्वाइट हाउसको ‘फ्रिडम २५०’ उत्सव शनिबार राति आँधीबेहरीका कारण केही समयका लागि रोकियो। साँझ करिब ७ बजे मौसम विभागले चट्याङ र आँधीबेहरीको चेतावनी जारी गरेपछि सुरक्षा कारणले हजारौं दर्शकलाई नेसनल मल खाली गर्न आदेश दिइयो। ती मानिसहरूलाई नजिकै संघीय भवनहरू, सङ्ग्रहालयहरू र टेन्टहरूमा आश्रय लिन लगिएको थियो।
त्यस्तै गरी, फिलाडेल्फियाको बेन्जामिन फ्र्याङ्कलिन पार्कवेमा आयोजना गरिएको ‘वन फिली: युनिटी कन्सर्ट फर अमेरिका’ पनि खराब मौसमका कारण रोकियो। उक्त कन्सर्टमा क्रिस्टिना अगुइलेरा र विल स्मिथजस्ता प्रख्यात कलाकारहरूको प्रस्तुति तय गरिएको थियो। पहिले शनिबार बिहान वासिङ्टन डीसीको स्वतन्त्रता दिवसको परेड अत्यधिक गर्मीका कारण रद्द गरिएको थियो।
ट्रम्पको सम्बोधन : कुनै पनि कुराले हाम्रो उत्सव रोक्न सक्दैन मौसममा सुधार आएपछि राति ९:४५ बजे नेसनल मलका गेटहरू पुन: खोलिए। केही घण्टाको ढिलाइपछि राति करिब ११:१५ बजे राष्ट्रपति डोनाल्ड ट्रम्प मञ्चमा देखिए। उनी खराब मौसमका बाबजुद फर्केर आएका हजारौं दर्शकहरूलाई धन्यवाद दिए। ‘म सबैलाई धन्यवाद दिन चाहन्छु किनभने उनीहरूले सही गरेका छन्, उनीहरूले चट्याङ देखेका थिए। मैले भनेको थिएँ, बिहान ४ बजे एक जना मात्र व्यक्तिको अगाडि बोल्नु परे पनि म यहाँ आउनेछु, हामीलाई कुनै पनि कुराले रोक्न सक्दैन,’ ट्रम्पले सम्बोधनमा भने। उनका एक कर्मचारीले कार्यक्रम अर्को हप्ता सार्न सुझाव दिए पनि उनले त्यसलाई अस्वीकार गरेको बताए। ‘यो २५०औँ वार्षिकोत्सव हो, यसभन्दा ठूलो दिन अरू कहिल्यै हुँदैन,’ उनले थपे।
इतिहासकै सबैभन्दा ठूलो आतसबाजी ट्रम्पको सम्बोधनपछि वासिङ्टन डीसीको आकाशमा ४० मिनेट लामो र इतिहासकै सबैभन्दा ठूलो आतसबाजी प्रदर्शन गरियो। ‘पाइरोटेक्निको’ कम्पनीले तयार पारेको यस आतसबाजीमा करिब ८ लाख ५० हजार पटाका पड्काइएको थियो। तर राष्ट्रिय निकुञ्ज सेवाका अधिकारीहरूले यसले सहरमा प्रदूषण बढाउन सक्ने चेतावनी दिएका थिए। यसैबीच, न्युयोर्कको हडसन नदीमा ऐतिहासिक पानीजहाजहरू र लडाकु विमानहरूको भव्य परेड पनि देखाइएको थियो। साथै राति न्युयोर्कको प्रख्यात ब्रुकलिन ब्रिजमा आतसबाजीका कारण आगलागी भए पनि तुरुन्त नियन्त्रणमा लिएर कुनै मानवीय क्षति नभएको बताइएको छ।
पोप र पूर्व राष्ट्रपतिहरूको सन्देश यस ऐतिहासिक दिनमा अमेरिकाका चार जीवित पूर्व राष्ट्रपतिहरू—बिल क्लिन्टन, जर्ज डब्लु बुस, बाराक ओबामा र जो बाइडेनले २५०औँ वार्षिकोत्सवको अवसरमा आ-आफ्ना सन्देश जारी गरेका छन्। उनीहरूले अमेरिकाको लोकतान्त्रिक मूल्य, मान्यता र स्वतन्त्रताका लागि दिइएको बलिदानको स्मरण गरे। क्लिन्टनले वर्तमान प्रशासनका नीति प्रति कडा आलोचना गर्दै सन्देश दिएका थिए। त्यस्तै, आप्रवासी नीतिलाई लिएर ट्रम्प प्रशासनसँग मतभेद राख्दै आएका पोप लियो चौधौंले ४ जुलाईमा इटालीको लाम्पेडुसा टापुस्थित एक आप्रवासी चिहानमा प्रार्थना गर्दै दिन विताएका थिए। पछि उनले होली सीका लागि अमेरिकी राजदूत ब्रायन बर्चसँग भेटवार्ता गरी अमेरिकाको २५०औं स्वतन्त्रता दिवसको शुभकामना आदानप्रदान गरेका थिए। (एजेन्सीहरूको सहयोगमा)






