Skip to main content

खामेनीको अन्त्येष्टिमा अमेरिका विरोधी नारा, इरानले सैनिक रणनीति परिवर्तन गर्दैछ

२१ असार, काठमाडौं । इरानका पूर्व सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको राजकीय अन्त्येष्टि समारोहमा राजधानी तेहरानका सडकहरूमा असाधारण जनसागर देखिएको छ, जुन इरानी सञ्चार माध्यमहरूले जनाएका छन्। छ दिनसम्म चल्ने यस अन्त्येष्टि कार्यक्रमको पहिलो दिन शनिबार बिहानैदेखि लाखौं मानिसहरू अन्तिम दर्शनका लागि तेहरानको ‘इमाम खुमेनी ग्रान्ड मुसल्ला’ मस्जिदमा भेला भएका थिए। फेब्रुअरी २८ को आक्रमणमा खामेनीसहित मारिएका उनका परिवारका अन्य सदस्यहरूको ताबुत इरानी झन्डामा लपेटिएर मञ्चमा राखिएको थियो। आफ्ना नेता र परिवारका सदस्यहरूको ताबुत हेर्दा उपस्थित लाखौं श्रद्धालुहरू भावुक हुँदै रोएका थिए। यस क्रममा आक्रोशित भीडले लगातार ‘अमेरिका मुर्दावाद’ र ‘इजरायलमाथि ईश्वरको कहर’ जस्ता नारा लगाउँदै विरोधका पोस्टरहरू प्रदर्शन गरेका थिए। अधिकारीहरूका अनुसार यो हालसम्मकै सबैभन्दा ठूलो जनसमूह भएको अनुमान छ र पुरै हप्ताको कार्यक्रममा करिब १.५ देखि २ करोड मानिस सहभागी हुने अपेक्षा गरिएको छ।

खामेनीको अन्तिम यात्रा ६ जुलाईमा तेहरानबाट सुरु हुनेछ। त्यसपछि उनको पार्थिव शरीरलाई ७ जुलाईमा कोम (इरान), ८ जुलाईमा इराकको नजफ र कर्बला हुँदै अन्ततः ९ जुलाईमा इरानको दोस्रो ठूलो सहर मशहदस्थित ‘इमाम रजा दरगाह’ परिसरमा राजकीय सम्मानका साथ समाधिस्थ गरिनेछ। शिया सम्प्रदायका कुल १२ पवित्र इमामहरूमध्ये आठौँ इमाम ‘इमाम रजा’ मात्र यस्ता इमाम हुन् जसलाई इरानको भूमिमा अन्तिम सम्मान दिइएको छ। बाँकी सबै इमामहरू साउदी अरब वा इराकमा दफन छन्। तत्कालीन शासकद्वारा विष दिएर हत्या गरिएपछि इमाम रजालाई दफन गरिएको यस स्थानको नाम पछि ‘मशहद’ (सहिद भएको ठाउँ) रहन गएको हो, जुन शिया मुस्लिमहरूका लागि मक्का, मदिना र कर्बलापछिको सबैभन्दा पवित्र स्थल मानिन्छ।

यस संवेदनशील समयमा इरानले अमेरिकासँग जारी अप्रत्यक्ष शान्ति वार्तालाई तत्कालका लागि पुनः स्थगित गरेको छ। साथै अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका निरीक्षकहरूलाई प्रमुख आणविक केन्द्रहरू: फोर्डो, नतान्ज र इस्फहानको अनुगमन गर्न इरानले स्पस्ट रूपमा अस्वीकृति जनाएको छ। यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले ‘मानवीय आधार’ मा इरानलाई अन्त्येष्टि पूरा गर्न एक हप्ताको समय दिएको दाबी गरेका छन्। यो अवधि सकिएपछि इरानले अमेरिकी सर्तहरू मान्नुपर्ने ट्रम्पको भनाइ छ।

खामेनीको निधनपछि इरानले आफ्नो सुरक्षा र सैन्य नीतिमा व्यापक परिवर्तन गरेको छ। नयाँ सर्वोच्च नेता मोजतबा खामेनीको नेतृत्वमा तेहरानले अब पहिलेको तुलनामा निकै आक्रामक शैली अपनाउने संकेत दिएको छ। भूराजनीतिक विश्लेषकहरूले अमेरिका र इजरायलले इरानमा सत्ता परिवर्तन गर्न नसके पनि इरानको रणनीतिमा पूर्णरूपले परिवर्तन आएको बताएका छन्। इरानले अब होर्मुज स्ट्रेटलाई आफ्नो सबैभन्दा ठुलो दबाबको हतियारको रूपमा प्रयोग गर्ने रणनीति अंगिकार गरेको छ। इरानको स्पष्ट सन्देश छ – ‘यदि इरानमा शान्ति नरहे विश्वका लागि आवश्यक तेलको आपूर्ति पनि सामान्य रूपमा रहन दिइने छैन।’ (एजेन्सीहरूको सहयोगमा)