Skip to main content

जलवायू परिवर्तनका कारण महिला, बालबालिका र उपेक्षित समुदाय बढी जोखिममा

२१ असार, काठमाडौं । जलवायु परिवर्तनले समाजका कमजोर र असहाय वर्गहरूलाई बढी प्रभावित गरेको विज्ञहरूले बताएका छन्। बालबालिकामाथि जलवायु परिवर्तनको प्रभावबारे आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले पनि यसै धारणा व्यक्त गरेका थिए। जलवायु वैज्ञानिक खुस्बु पौडेलका अनुसार, जलवायु परिवर्तनको असर सबैमा एउटै रूपमा पर्दैन। महिला, बालबालिका, असहाय र उपेक्षित समुदायका सदस्यहरू यसले विशेष गरी बढी प्रभावित बनाउँछन्।

पौडेलले बताइन् कि अत्यधिक वर्षा, बाढी, पहिरो र खडेरीले कृषि क्षेत्रमा क्षति पुर्याउँदा बालबालिका खाद्य सङ्कटमा परेका छन्। यसकै कारण महिला, बालबालिका, सुत्केरी तथा गर्भवती महिलाले स्वास्थ्य सेवा पाउन कठिनाइ भोगिरहेका छन्। विभिन्न अध्ययनहरूले जलवायु परिवर्तनका कारण नियमित खोप सेवा र परिवार नियोजनका साधनहरूमा कमी आएर अनिश्चित गर्भधारणको अवस्था सिर्जना भएको देखाएको पौडेलले जानकारी दिइन्।

पानीको अभावले किशोरीहरू महिनावारीका दिन विद्यालय जान असमर्थ हुने र टाढाबाट पानी बोक्नुपर्ने बाध्यताका कारण उनीहरूको पढाइ प्रभावित हुने अवस्था पनि देखिएको उनले भनिन्। यसले बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, सरसफाइ र बालअधिकारमा प्रत्यक्ष असर परेको छ।

पृथ्वीको औसत तापक्रम पछिल्लो १५० वर्षमा १.५ डिग्री सेल्सियसले बढेको जलवायु विज्ञ मञ्जित ढकालले बताएका छन्। उनले जलवायु परिवर्तनपछि देखापरेका प्रकोपहरूले कृषि, पर्यटन, जलविद्युत र रेमिट्यान्स क्षेत्रमा नकारात्मक प्रभाव पार्ने उल्लेख गरे। यदि यो स्थिति यथावत रह्यो भने अहिलेका बालबालिका भविष्यमा ठूलो चुनौती सामना गर्नुपर्ने ढकालले चेतावनी दिएका छन्।