शर्ट लगभग सबैले पोशाकको रुपमा लगाउँछन्। नयाँ शर्ट किन्दा प्रायः मानिसको ध्यान रङ, डिजाइन, कपडाको गुणस्तर, फिट र ब्रान्डमा केन्द्रित हुन्छ। तर शर्टको कालरका दुवै छेउमा राखिएको सानो बटनमाथि कहिल्यै सोच्नुभएको छ? यसको उद्देश्य के हो? किन सबै शर्टमा नभई केही विशिष्ट शर्टमा मात्र यस्तो बटन पाइन्छ? धेरैले यसलाई केवल फेसनको एउटा भाग वा सजावटका रुपमा बुझ्छन्, तर वास्तविकता फरक छ। आकारमा सानो भए तापनि यस बटनको पछाडि रोचक इतिहास छ, जसले शर्टलाई व्यवस्थित राख्नसाथै विशेष काम गर्दछ।
शर्टको कालरमा राखिने सानो बटनको मुख्य उद्देश्य कालरलाई आफ्नो स्थानमा मजबुतीसँग अड्याउने हो। हावाले चल्दा, हिँड्दा वा शरीर हल्लिँदा कालर उठ्ने, मोडिने वा फर्फराउने सम्भावना हुन्छ जसले शर्टको सम्पूर्ण लुक बिगार्न सक्छ। बटनले यी समस्यालाई रोक्छ। यस समस्याको समाधानका लागि कालरका दुवै छेउमा साना बटन राखेर शर्टसँग जोड्ने व्यवस्था गरिएको छ। यसले कालरलाई सदैव मिलेको अवस्थामा राख्छ। विशेष गरी टाइ नलगाई शर्ट लगाउँदा यो डिजाइन अझ बढी प्रभावकारी हुन्छ किनकि कालर आफैं व्यवस्थित देखिन्छ।
‘बटन–डाउन कालर’ नाम कालरका दुवै छेउ साना बटनद्वारा शर्टसँग जोडिने डिजाइनलाई बटन–डाउन कालर भनिन्छ। यसमा कालर खुला नराखी बटनले स्थिर राखिन्छ। यस प्रकारको कालरलाई औपचारिक र अनौपचारिक दुवै शैलीमा लगाउन सकिन्छ। कार्यालय जाने कर्मचारीदेखि विश्वविद्यालयका विद्यार्थी, व्यवसायीदेखि दैनिक यात्रा गर्ने व्यक्तिहरूले यो किसिमको शर्ट सहज रूपमा प्रयोग गर्दछन्। यही कारणले बटन–डाउन कालर आज विश्वभर सबैभन्दा लोकप्रिय शर्ट डिजाइनमध्ये एक मानिन्छ।
उन्नाइसौँ शताब्दीको अन्त्यतिर पोलो खेल्ने खेलाडीहरूले खेलको समयमा घोडा दौडाउँदा हावाले कालर उडाउने समस्या भोगेका थिए। कालर अनुहारमा पुग्दा खेल खेल्न असहज हुने भएकाले यसको समाधान खोजियो। त्यसपछि कालरका दुवै छेउमा साना बटन राखेर शर्टसँग बाँध्ने उपाय अपनाइयो। यसले खेलाडीहरूलाई सहजता प्रदान गर्यो र शर्ट पनि सदैव व्यवस्थित देखिन थाल्यो। पछि यो डिजाइन अमेरिकाका विश्वविद्यालयहरूमा र सर्वसाधारणबीच लोकप्रिय भयो। समयसँगै प्रसिद्ध कपडा कम्पनीहरूले यसलाई आफ्ना उत्पादनहरूमा समावेश गरे र बटन–डाउन कालर विश्वव्यापी फेसनको भाग बन्यो।






