Skip to main content

ए–स्टार नेपाल बास्केटबलको उपाधि ग्रीनफोर्ड नाइट्सले जित्यो

२१ असार, लन्डन । विदेशमा बसोबास गर्ने नेपाली समुदायद्वारा आयोजित सबैभन्दा ठूलो खेलकुद प्रतियोगितामध्ये एक ‘ए–स्टार नेपाल बास्केटबल लिग २०२६’ को पाँचौं संस्करणको उपाधि ग्रीनफोर्ड नाइट्सले जितेको छ। लन्डनस्थित ब्रुनेल विश्वविद्यालय स्पोर्ट्स सेन्टरमा शनिवार सम्पन्न फाइनल मुकाबलामा स्याण्डहर्स्ट निक्सलाई पराजित गर्दै ग्रीनफोर्डले ट्रफी चुमेको हो। विजेता टोलीलाई लिगको मुख्य प्रायोजक ए-स्टार मोर्गेजेज युके तथा ए-स्टार रियल एस्टेट्स युकेका प्रबन्ध निर्देशक मिन दर्लामीले ट्रफी हस्तान्तरण गरे। त्यस्तै, लन्डन बरो अफ हन्स्लोका पूर्व मेयर बिष्णु बहादुर गुरुङ, तमु धी युकेका अध्यक्ष जुमकाजी गुरुङ तथा नेपाल पत्रकार महासंघ युके शाखाकी अध्यक्ष बिमला सेनेले विजयी तथा उपविजेता खेलाडीहरूलाई पुरस्कार वितरण गरेका थिए। नेपाल फुड्स र अनुग्रह ज्वेलर्सले खेलाडीहरूलाई गिफ्ट ह्याम्पर प्रदान गरेका थिए।

प्रतियोगिताको एक अंगको रूपमा भएको भेटरन्स खेलमा स्ल्यामर्स र ब्रिगेड बोइज क्लब (बीबीसी) बीच रोचक प्रतिस्पर्धा देखिएको थियो। महिलातर्फ विमेन बलर्स क्लबले लन्डन हटशट्सलाई पराजित गर्दै उपाधि आफ्नो पोल्टामा राख्यो। कार्यक्रममा विशेष अतिथिका रूपमा उपस्थित नेपाली महिला बास्केटबल टोलीकी राष्ट्रिय कप्तान अनुशा मल्लले विजयी खेलाडीहरूलाई पुरस्कार प्रदान गरिन्। खेलको स्तर उत्कृष्ट रहेको बताउँदै कप्तान मल्लले भनेकी थिइन्, “नेपालबाहिर नेपालीहरूबीच यसरी भव्य खेल भइरहेको देख्दा अत्यन्त खुशी लागेको छ। समय निकालेर यो खेललाई निरन्तरता दिन र आफ्नो पैसनलाई फलो गर्न म सबैलाई आग्रह गर्छु।”

यसअघि जुन २१ मा फेलथमस्थित स्प्रिङवेस्ट एकेडेमीमा सम्पन्न सेमिफाइनल खेलबाट फाइनलको समीकरण पूरा भएको थियो। पहिलो सेमिफाइनलमा स्यान्डहर्स्ट निक्सले ह्याम्पशायर हुपर्सलाई ८२–७७ को प्रतिस्पर्धात्मक अंकले तथा दोस्रो सेमिफाइनलमा ग्रीनफोर्ड नाइट्सले बलर्स स्ल्यामर्सलाई १०९–७७ को फराकिलो अन्तरले हराउँदै फाइनल यात्रा तय गरेको थियो। शनिबार भएको फाइनल भिडन्त निकै रोमाञ्चक र उच्च स्तरको रहेको लिगका संयोजक सार्थक गुरुङले बताए। त्यस्तै, नेपाल बास्केटबल यूकेका अध्यक्ष रूपक गुरुङले प्रतियोगितालाई यो उचाइसम्म पुर्‍याउन योगदान दिने सम्पूर्ण खेलाडी, स्वयंसेवक, प्रायोजक र दर्शकप्रति आभार व्यक्त गरे। मुख्य प्रायोजक ए-स्टार मोर्गेजेज तथा रियल एस्टेट्सका प्रबन्ध निर्देशक दर्लामीले यस्ता खेलकुदले युवाहरूलाई रचनात्मक कार्यमा लाग्न प्रोत्साहित गर्ने तथा उनीहरूको व्यक्तित्व विकासमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे।

नेपाल बास्केटबल लिग यूकेले विमेन बलर्स क्लबसँगको सहकार्यमा आयोजना गरेको यस वर्षको लिगमा पुरुषतर्फ ११ र महिलातर्फ २ टोलीहरुले प्रतिस्पर्धा गरेका थिए। गत चैत १ गतेदेखि सुरु भएको यो प्रतियोगिताले बेलायतभर रहेका नेपाली मूलका युवा प्रतिभालाई एउटै मञ्चमा ल्याएर खेलप्रतिको आकर्षण र आपसी भाइचारा बढाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जानकारी दिएको छ।