अयातोल्लाह अली खामेनीको श्रद्धाञ्जली समारोहमा छोरा मोज्तबा अनुपस्थित
२२ असार, काठमाडौं । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि अघिको श्रद्धाञ्जली समारोहमा उनका छोरा मोज्तबा खामेनी अनुपस्थित रहेपछि यसबारे विभिन्न अड्कलबाजी सुरु भएको छ। आइतबार आयोजित शोक सभामा अली खामेनीका अन्य तीन छोरा– मसुद, मोस्तफा र मेइसाम उपस्थित थिए। कार्यक्रममा राष्ट्रपति मसुद पेजेसकियान, इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रमुख अहमद वहिदीलगायत उच्च सरकारी अधिकारीहरूको पनि उपस्थिति थियो। तर उत्तराधिकारी छोरा मोज्तबा खामेनी बुवाको श्रद्धाञ्जली समारोहमा अनुपस्थित भएपछि उनको स्वास्थ्य अवस्थाबारे विभिन्न अनुमान जारी छन्। उनी मार्चको सुरुतिर सर्वोच्च नेताको जिम्मेवारीमा नियुक्त भएपछि सार्वजनिक रूपमा देखिएका छैनन्।
उनका पिता मारिएका अमेरिकी–इजरायली हवाई आक्रमणमा उनी पनि घाइते भएको हुन सक्ने भन्ने हल्ला पनि फैलिएको छ। अली खामेनीले सन् १९८९ देखि फेब्रुअरी अन्तिम सातामा मृत्यु हुनुअघिसम्म इरानको सर्वोच्च नेताका रूपमा शासन गरेका थिए। अनुपस्थितिको कारणबारे मोज्तबा खामेनीको अनुपस्थितिबारे इरानले कुनै आधिकारिक स्पष्टीकरण दिएको छैन। तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सुरक्षा जोखिम र उनी आक्रमणमा घाइते भएको सम्भावनालाई प्रमुख कारणका रूपमा उल्लेख गरेका छन्। रोयटर्स, अल जजिरा, फाइनान्सियल टाइम्स लगायतका अनलाइनहरूले मोज्तबाको अनुपस्थितिको मुख्य कारण सुरक्षा भएको बताएका छन्।
यी रिपोर्टहरूका अनुसार इजरायलले उनलाई पनि सम्भावित निशाना बनाउन सक्ने जोखिमका कारण सुरक्षा निकायले सार्वजनिक कार्यक्रममा सहभागी हुन नदिएको हुन सक्छ। रोयटर्सले मोज्तबा अमेरिकी–इजरायली आक्रमणमा पर्दा अनुहार तथा खुट्टामा चोट लागेको र गम्भीर घाइते भएको हुनसक्ने भनेर विभिन्न स्रोतहरूका आधारमा समाचार लेखेको छ। युरो न्युजले उनी सर्वोच्च नेता नियुक्त भएयता कुनै सार्वजनिक कार्यक्रममा नदेखिनुलाई केही विश्लेषकले यसलाई सुरक्षा तथा सत्ता हस्तान्तरणको संवेदनशील अवस्थासँग जोडेर हेरेको जनाएको छ।






