Skip to main content

देशभरि ३२.३८ प्रतिशत मात्र धान रोपाई, मधेशको अवस्था निराशाजनक

२२ असार, काठमाडौं । यस वर्ष असारको तेस्रो साता बितिसक्दा पनि देशभरि धान रोपाईले अपेक्षित प्रगति गर्न सकेको छैन। कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको कृषि विभागका ताजा तथ्यांक अनुसार देशभरि कुल ३२.३८ प्रतिशत मात्र धान रोपाई सम्पन्न भएको छ। नेपालमा धान खेतीका लागि कुल १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफल रहेकोमा अहिलेसम्म ४ लाख ४३ हजार ५ सय ९५ हेक्टर मात्रैमा धान रोपिएको छ। गत वर्ष यही अवधिमा देशभरि ४५ प्रतिशत रोपाई भइसकेको थियो।

प्रदेशगत तथ्यांक विश्लेषण गर्दा सुदूरपश्चिम प्रदेशको रोपाई अवस्था सबैभन्दा सन्तोषजनक देखिएको छ। विवरण अनुसार सुदूरपश्चिम प्रदेशमा धान खेती हुने कुल १ लाख ५४ हजार ९ सय ५० हेक्टर मध्ये ८९ हजार ७ सय ४२ हेक्टरमा रोपाई पूर्ण भइसकेको छ। जुन कुल क्षेत्रको ५७.९ प्रतिशत हो। गत वर्ष यही समयमा यहाँ ८२.८ प्रतिशत रोपाई भइसकेको थियो। सुदूरपश्चिमलाई पछि पार्दै गण्डकी प्रदेशमा ४१ प्रतिशत रोपाई भएको छ। गण्डकीमा ९३ हजार ६ सय ६ हेक्टर क्षेत्रफलमा ३८ हजार ३ सय ८९ हेक्टरमा धान रोपिएको छ।

त्यसैगरी, कर्णाली प्रदेशमा धान खेती हुने ४३ हजार २ सय ९० हेक्टरमध्ये १७ हजार ५ सय ४९ हेक्टर, अर्थात् ४०.५ प्रतिशतमा रोपाई सम्पन्न भएको छ। गत वर्ष यो बेला गण्डकीमा ५५.६ प्रतिशत र कर्णालीमा ७१.७ प्रतिशत रोपाई भएको थियो। लुम्बिनी प्रदेशमा ३ लाख १ हजार ३ सय ७२ हेक्टरमा धान खेती हुन्छ, जसमा अहिलेसम्म १ लाख १२ हजार ५ सय ९ हेक्टर अर्थात् ३७.३ प्रतिशतमा मात्र रोपाई भएको छ। यो गत वर्षको ५२.१ प्रतिशतको तुलनामा निकै कम हो।

बागमती प्रदेशमा पनि गत वर्षको ५१.९ प्रतिशतको तुलनामा यस वर्ष ३३.२ प्रतिशत मात्र रोपाई भएको छ। बागमतीमा कुल १ लाख १४ हजार ५ सय २४ हेक्टर क्षेत्रफलमध्ये ३८ हजार २६ हेक्टरमा रोपाई पूरा भइसकेको छ। तथ्यानुसार कोशी प्रदेशमा २ लाख ७६ हजार ३ सय ८७ हेक्टरमध्ये ८७ हजार ३३ हेक्टर, अर्थात् ३१.५ प्रतिशत रोपाई भएको छ। गत वर्ष यो बेला यहाँ २९.५ प्रतिशत मात्र रोपाई भएको थियो।

धान उत्पादनको मुख्य केन्द्र मानिने मधेश प्रदेशको स्थिति यस वर्ष पनि नकारात्मक छ। देशमै सबैभन्दा बढी, अर्थात् ३ लाख ८५ हजार ९ सय ३३ हेक्टर क्षेत्रमा धान खेती हुने यस प्रदेशमा असारको तेस्रो सातासम्म मात्र ६० हजार ३ सय ४६ हेक्टरमा धान रोपिएको छ। यो कुल क्षेत्रफलको केवल १५.६ प्रतिशत हो, जुन सबै प्रदेशमध्ये सबैभन्दा कम हो। गत वर्ष यही बेला मधेशमा २५.१ प्रतिशत रोपाई भइसकेको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ