२२ असार, काठमाडौं । यस वर्ष असारको तेस्रो साता बितिसक्दा पनि देशभरि धान रोपाइँले अपेक्षित गतिको प्रगति गर्न सकेको छैन। कृषि, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको कृषि विभागका ताजा तथ्याङ्क अनुसार देशभरि कुल ३२.३८ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ। नेपालमा धान खेतीका लागि कुल १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफल रहेकोमा हालसम्म ४ लाख ४३ हजार ५ सय ९५ हेक्टर मात्रमा धान रोपिएको छ। गत वर्ष यही अवधिमा देशभरि ४५ प्रतिशत रोपाइँ भइसकेको थियो।
प्रदेशगत तथ्यांक विश्लेषण गर्दा सुदूरपश्चिम प्रदेशमा रोपाइँको अवस्था सबैभन्दा सन्तोषजनक देखिएको छ। विवरणअनुसार सुदूरपश्चिम प्रदेशमा धान खेती हुने कुल १ लाख ५४ हजार ९ सय ५० हेक्टरमध्ये ८९ हजार ७ सय ४२ हेक्टरमा रोपाइँ पूर्ण भइसकेको छ। यो कुल क्षेत्रको ५७.९ प्रतिशत हो। गत वर्ष यही समयमा यहाँ ८२.८ प्रतिशत रोपाइँ भइसकेको थियो। सुदूरपश्चिमलाई पछि पार्दै गण्डकी प्रदेशमा ४१ प्रतिशत रोपाइँ भएको छ। गण्डकीमा ९३ हजार ६ सय ६ हेक्टर क्षेत्रफलमा ३८ हजार ३ सय ८९ हेक्टरमा धान रोपिएको छ।
त्यसैगरी, कर्णाली प्रदेशमा धान खेती हुने ४३ हजार २ सय ९० हेक्टरमध्ये १७ हजार ५ सय ४९ हेक्टर, अर्थात् ४०.५ प्रतिशत मा रोपाइँ सम्पन्न भएको छ। गत वर्ष यो बेला गण्डकीमा ५५.६ प्रतिशत र कर्णालीमा ७१.७ प्रतिशत रोपाइँ भएको थियो। लुम्विनी प्रदेशमा ३ लाख १ हजार ३ सय ७२ हेक्टरमा धान खेती हुने गर्दछ, जसमा हालसम्म १ लाख १२ हजार ५ सय ९ हेक्टर अर्थात् ३७.३ प्रतिशतमा मात्र रोपाइँ भएको छ। यो गत वर्षको ५२.१ प्रतिशतको तुलनामा निकै कम हो।
बागमती प्रदेशमा पनि गत वर्षको ५१.९ प्रतिशतको तुलनामा यस वर्ष ३३.२ प्रतिशत मात्र रोपाइँ भएको छ। बागमतीमा कुल १ लाख १४ हजार ५ सय २४ हेक्टर क्षेत्रफलमध्ये ३८ हजार २६ हेक्टरमा रोपाइँ पूरा भइसकेको छ। तथ्यानुसार कोशी प्रदेशमा २ लाख ७६ हजार ३ सय ८७ हेक्टरमध्ये ८७ हजार ३३ हेक्टर, अर्थात् ३१.५ प्रतिशत रोपाइँ भएको छ। गत वर्ष यो बेला यहाँ २९.५ प्रतिशत मात्र रोपाइँ भएको थियो।
धान उत्पादनको मुख्य केन्द्र मानिने मधेश प्रदेशको अवस्था यस वर्ष पनि निराशाजनक छ। देशमै सबैभन्दा बढी, अर्थात् ३ लाख ८५ हजार ९ सय ३३ हेक्टर क्षेत्रफलमा धान खेती हुने यस प्रदेशमा असारको तेस्रो सातासम्म मात्र ६० हजार ३ सय ४६ हेक्टरमा धान रोपिएको छ। यो कुल क्षेत्रफलको केवल १५.६ प्रतिशत हो, जुन सबै प्रदेशमध्ये सबैभन्दा कम हो। गत वर्ष यही बेला मधेशमा २५.१ प्रतिशत रोपाइँ भइसकेको थियो।

