Skip to main content

हालान्डका दुई गोलले नर्वे क्वार्टरफाइनलमा प्रवेश, ब्राजिल बाहिरियो

चौथो पटक विश्वकप खेलेको नर्वेले इतिहास रच्दै पहिलोपटक विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ भने ब्राजिल ३६ वर्षपछि अन्तिम १६ बाट बाहिरिएको छ। २२ असार, काठमाडौं। एर्लिङ हालान्डका दुई गोलको मद्दतले नर्वेले पाँच पटकको विश्व विजेता ब्राजिललाई २-१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको हो। यसअघि सन् १९९० मा ब्राजिल अन्तिम १६ बाट बाहिरिएको थियो। नर्वेले ब्राजिललाई विश्वकपमा दोस्रो पटक पराजित गरेको हो, यसअघि १९९८ मा पनि नर्वेले ब्राजिललाई २-१ ले हराएको थियो। नर्वे ब्राजिलसँग खेलेका सबै पाँच खेलमा अपराजित रहेको छ।

नर्वेले अब मेक्सिको र इंग्ल्यान्डबीचको खेलको विजेतासँग क्वार्टरफाइनल खेल्नेछ। अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा भएको खेलमा हालान्डले दोस्रो हाफको अन्तिम ११ मिनेटमा दुई गोल गरे। उनले ७९औं मिनेटमा आन्द्रेस सेलड्रुपको पासमा पहिलो गोल गरे भने ९०औं मिनेटमा हेडरमार्फत दोस्रो गोल गर्दै नर्वेलाई २-० को अग्रता दिलाए। ब्राजिलका लागि नेमारले इन्जुरी टाइमको नवौँ मिनेटमा पेनाल्टीबाट गोल फर्काए पनि हार टार्न पर्याप्त भएन।

ब्राजिलले पहिलो हाफमा पेनाल्टी पाउँदा गोल गर्न सकेन। ब्रुनो गुमाइरेजले पहिलो हाफको सुरुमै पाएको पेनाल्टी नर्वेका गोलकिपर ओर्यान नाएल्यन्डले बचाएका थिए। नर्वेका क्रिस्टोफर अयरले विपक्षी खेलाडीमाथि पेनाल्टी बक्समा फल गर्दा रेफ्रीले भिएआरको सहयोगमा ब्राजिललाई पेनाल्टी दिएका थिए। पछिल्लो ४० वर्षमा विश्वकपमा पेनाल्टी गोल गर्न असफल हुने ब्रुनो ब्राजिलका पहिलो खेलाडी बनेका छन्। दोस्रो हाफमा मैदान प्रवेश गरेका एन्ड्रिकले गोल गर्ने राम्रो अवसर पनि गुमाएका थिए। खेलमा नर्वेले ब्राजिलमाथि सुरुय देखि बल पोसेसन राख्दै दबाब बनाएको थियो। नर्वेले ६५ प्रतिशत बल पोसेसन राख्दा ब्राजिलको मात्र ३५ प्रतिशत थियो।

हालान्डले ब्राजिल विरुद्ध दुई गोल गरेपछि गोल्डेन बुट रेसमा बलियो दाबेदारी दिएका छन्। उनी फ्रान्सका कप्तान किलियन एमबाप्पे र अर्जेन्टिनाका कप्तान लियोनल मेसीसँग समान ७ गोलका साथ छन्। हालान्डले यस विश्वकपका सबै चार खेलमा गोल गरेका छन्।