अमेरिकाको न्यु योर्क, न्यु जर्सी स्टेडियममा चलिरहेको खेलमा एर्लिङ हालान्डले ९०औँ मिनेटमा गोल गर्दै नर्वेलाई २-० को अग्रता दिलाए। २२ असार, काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत हालान्डको गोलले नर्वेले ब्राजिलविरुद्ध अग्रता दोब्बर बनाएको छ। हालान्डले दोस्रो हाफमा दश मिनेटको अन्तरालमा दुई गोल गरेका हुन्। उनले ७९औँ मिनेटमा पहिलो गोल गरेका थिए।
ब्राजिलले पहिलो हाफमा पेनाल्टी गुमाउँदा अग्रता लिने अवसर गुमाएको थियो। ब्राजिलका ब्रुनो गुमाइरेजले पहिलो हाफको सुरुमै पाएको पेनाल्टी मिस गरेका थिए। खेलको १४औँ मिनेटमा ब्रुनोको पेनाल्टी प्रहार नर्वेका गोलकिपर ओर्यान नाएल्यन्डले बचाए। नर्वेका क्रिस्टोफर अयरले विपक्षी खेलाडीमाथि पेनाल्टी बक्समा फल गरेपछि रेफ्रीले भिएआरको सहयोगमा ब्राजिललाई पेनाल्टी दिएका थिए। तर ब्रुनो गुमाइरेजको प्रहारलाई नाएल्यन्डले बचाए। पछिल्लो ४० वर्षमा विश्वकपमा पेनाल्टीमा गोल गर्न असफल हुने ब्रुनो ब्राजिलका पहिलो खेलाडी बने। यसअघि सन् १९८६ मा ब्राजिलका जिकोले फ्रान्सविरुद्ध पेनाल्टी मिस गरेका थिए।
नर्वेले ब्राजिलसँग अहिलेसम्म खेलेको चार खेलमा अपराजित छ भने सन् १९९८ मा भएको विश्वकपको एक मात्र भेटमा नर्वेले ब्राजिललाई २-१ ले पराजित गरेको थियो।

