एक्स्ट्रिम इनर्जी ड्रिंक्सले एनपीएलका ६ फ्रेन्चाइज टोलीहरूको टाइटल स्पोन्सरता सम्भाले
२२ असार, काठमाडौं । नेपालमा लोकप्रिय ब्राण्ड एक्स्ट्रिम इनर्जी ड्रिंक्स, जुन एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित छ, ले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा ६ फ्रेन्चाइज टोलीसँग टाइटल स्पोन्सरसिप सम्झौता गरेको छ। ८ फ्रेन्चाइज टोलीमध्ये ६ सँग एक्स्ट्रिमले टाइटल स्पोन्सरको रूपमा सम्झौता गरेको हो। खेलकुदको व्यावसायिक इतिहासमा निजी क्षेत्रबाट भएको यो सम्भवतः सबैभन्दा ठूलो साझेदारी भएको कम्पनीले जनाएको छ।
एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं गोर्खाज, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्ससँग टाइटल स्पोन्सरका रूपमा औपचारिक सम्झौता गरेको छ। एनपीएलको तेस्रो संस्करणका लागि सोमबार आयोजित विशेष कार्यक्रममा ६ टोलीका प्रतिनिधि र एग्रो थाई फुड्स प्रालिका बिजनेस हेड सोनिया राणाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो। सम्झौता अनुसार एक्स्ट्रिम इनर्जी ड्रिंक्स उक्त टोलीहरूको प्रमुख प्रायोजकका रूपमा आगामी ३ वर्षसम्म रहनेछ र टोलीहरूको प्लेइङ जर्सीको अगाडि प्रमुख स्थानमा यसको लोगो रहनेछ।
कम्पनीका अनुसार यो सहकार्यले नेपाली क्रिकेटको सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिता एनपीएलमार्फत ब्राण्डलाई अझ सशक्त रूपमा दर्शकमाझ स्थापित गर्नेछ र नेपाली क्रिकेटको व्यावसायिक विकासमा पनि महत्वपूर्ण योगदान पुर्याउनेछ। कार्यक्रममा प्रमुख अतिथि, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले एक्स्ट्रिम इनर्जी ड्रिंक र एनपीएल फ्रेन्चाइजहरूबीचको सहकार्यलाई नेपाली क्रिकेटको दिगो विकास, खेलाडीहरूको भविष्य उज्ज्वल बनाउने र समग्र क्रिकेट संरचनालाई सुदृढ बनाउने महत्वपूर्ण पहल भएको बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै एग्रो थाई फुड्स प्रालिका नेसनल सेल्स मेनेजर कृष्ण दहालले, एनपीएल नेपालको सबैभन्दा ठूलो र प्रतिष्ठित क्रिकेट प्रतियोगितामा ६ टोलीसँग एकैपटक टाइटल स्पोन्सरको रूपमा सहकार्य गर्न पाउनु गर्वको विषय भएको बताए। उनले भने, साझेदारी केवल ब्राण्ड प्रचारका लागि मात्र नभई नेपाली क्रिकेटको दीर्घकालीन विकासका लागि रहेको छ। एक्स्ट्रिम इनर्जी ड्रिंक्स विगत केही वर्षदेखि निरन्तर नेपाली खेलकुद क्षेत्रमा लगानी गर्दै आएको छ।

