Skip to main content

आप्रवासी नेपाली कामदारहरूको औसत मासिक आम्दानी ५४,४०३ रुपैयाँ, मलेसियामा सबैभन्दा उच्च

२३ असार, काठमाडौं। विदेशमा कार्यरत नेपाली कामदारहरूको पहिलो मासिक आम्दानी औसत ५४,४०३ रुपैयाँ रहेको सरकारी सर्वेक्षणले देखाएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को प्राविधिक सहयोगमा नेपालमा पहिलो पटक आप्रवासी भर्ना लागत सर्वेक्षण २०२३ सञ्चालन गरेको हो। उक्त सर्वेक्षणको नतिजा कार्यालयले मंगलबार सार्वजनिक गरेको छ। सर्वेक्षणमा विदेश गएर नेपाल फर्केका आप्रवासी कामदारहरूसँग सङ्कलित तथ्याङ्कलाई आधार बनाएर नमूना छनोट गरिएको हो। तथ्याङ्कअनुसार नेपाल फर्किएका आप्रवासी श्रमिकहरूको पहिलो औसत मासिक आम्दानी ५४,४०३ रुपैयाँ रहेको छ। त्यस्तै, मध्यिका आम्दानी भने ४४,५०० रुपैयाँ रहेको देखिएको छ। यसको अर्थ, उच्च आम्दानी भएका श्रमिकहरूको संख्या कम छ, तर उनीहरूको आम्दानी धेरै भएकाले औसत आम्दानी मध्यिका आम्दानीभन्दा बढी देखिएको हो।

कार्यालयका अनुसार यो सर्वेक्षण नमूना छनोट विधिमा आधारित घरपरिवार सर्वेक्षण हो। सर्वेक्षणका लागि देशभरबाट प्रतिनिधित्व हुने गरी ३,७४२ घरपरिवार समेटेर राष्ट्रिय स्तरमा विश्वसनीय अनुमान तयार गरिएको थियो। सर्वेक्षणको नतिजाले सन् २०२३ मा नेपालको कुल जनसंख्या २ करोड ९६ लाख मध्ये २४ लाख ५० हजार (८.३ प्रतिशत) जनसंख्या आप्रवासी भएर फर्किएको देखाएको छ। यसमा १६ लाख १० हजार (५.४ प्रतिशत) जनसंख्या विदेशमा काम गरेर नेपाल फर्किएको तथ्याङ्क भित्रिएको छ। विदेशमा काम गरी फर्किएका नेपाली आप्रवासीमध्ये २ लाख ८३,६८६ (१५.७ प्रतिशत) श्रमिक विगत ५ वर्षको अवधिमा वैतनिक रोजगारीका लागि विदेशमा गएका देखिन्छन्।

सर्वेक्षण अनुसार नेपाल फर्किएका आप्रवासी श्रमिकहरूमा पुरुषहरूको औसत आम्दानी महिला श्रमिकहरूको तुलनामा बढी छ। पुरुषहरूको औसत मासिक आम्दानी ६४,७२१ रुपैयाँ र मध्यिका ४४,५०५ रुपैयाँ रहेको छ। महिलाहरूको मासिक औसत आम्दानी ४८,६४७ रुपैयाँ र मध्यिका ३०,९२० रुपैयाँ रहेको छ। यसले विदेशमा आप्रवासी श्रमिकहरूको मासिक आम्दानीमा असमानता देखाएको छ। औसत आम्दानीमा मलेसियाले अगाडि छ; यस सर्वेक्षणबाट मलेसियाको औसत मासिक आम्दानी ५७,६९६ रुपैयाँ देखिएको छ। त्यसपछि कतार र संयुक्त अरब इमिरेट्सको औसत आम्दानी लगभग ५५,००० रुपैयाँ रहेको छ। सबैभन्दा कम मासिक औसत आम्दानी भने भारतमा २६,०८३ रुपैयाँ र मध्यिका आम्दानी २४,००० रुपैयाँ रहेको नतिजामा देखिन्छ।