Skip to main content

पर्यटन मन्त्रीका १ सय दिनमा पूर्वको योजनाहरूको निरन्तरता

२३ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्क राज पौडेलले मन्त्रालय सम्हालेको १ सय दिन पुगेको अवसरमा सार्वजनिक गरेका उपलब्धिहरूमा पूर्व सरकारका पालामा सुरु भएका कामहरूको निरन्तरता रहेको उल्लेख गरेका छन् । मन्त्रालयले शासकीय सुधारको क्रममा १ सय दिनका मुख्य उपलब्धिहरू सार्वजनिक गरेको छ । जसमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायको रूपमा रूपान्तरण गर्ने विधेयकको अन्तिम मस्यौदा तयार गरिएको जानकारी दिइएको छ । यो मस्यौदा अघिल्लो संसद्को कार्यकालमै तयार भई दर्ता भइसकेको थियो । संसद विघटनपछिको अवस्थामा यस विधेयक पुनः दर्ता हुनसक्ने अवस्था रहेको थियो।

यस अवधिमा सबै वायुसेवा कम्पनीहरूले हवाई टिकट अनलाइन प्रणालीबाट बिक्री गर्ने व्यवस्था मन्त्रालयले मिलाएको दाबी गरेको छ, यद्यपि विगतदेखि नै अनलाइनबाट टिकट खरिद सम्भव छ। १ सय दिनको कार्यसम्पादनमा नेपाल पर्यटन बोर्डको पुनर्संरचनासम्बन्धी प्रारम्भिक खाका तयार गरिएको कुरा पनि समावेश छ। मन्त्रालयले करिब एक वर्षअघि नै कार्यकारी समितिमा व्यापक परिवर्तन प्रस्ताव गर्दै नेपाल पर्यटन बोर्ड ऐन २०५३ संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार पारेको थियो। प्रदेश र स्थानीय तहमा पर्यटन तथा आतिथ्यता सम्बन्धी तालिमहरू सञ्चालन गरिएको नयाँ उपलब्धि पनि मन्त्रालयले उल्लेख गरेको छ। यस्ता तालिम कार्यक्रमहरू नेपाल पर्यटन बोर्ड र पर्यटन विभागबाट नियमितरूपमा सञ्चालन हुँदै आएका छन्।