Skip to main content

इरानले अमेरिकाको ड्रोन खसालेको दाबी, कुवेतमाथि क्षेप्यास्त्र आक्रमण

२४ असार, काठमाडौं । अमेरिका र इरानबीचको द्वन्द्वले पश्चिम एसियामा थप उग्र रूप लिने संकेत देखिएका छन्। अमेरिकाले इरानमाथि भीषण हवाई आक्रमण गरेलगत्तै इरानले एक अत्याधुनिक अमेरिकी ड्रोन खसालेको दाबी गरेको छ भने द्वन्द्वको प्रभाव छिमेकी राष्ट्र कुवेतसम्म फैलिएको छ। इरानी समाचार एजेन्सी तस्निमका अनुसार, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का प्रवक्ता हुसेन मोहबीले इरानी वायु रक्षा प्रणालीले बुशेहर प्रान्तको खोरमुजमाथि उडिरहेको अमेरिकी एमक्यु-९ ड्रोनलाई खसालेको बताएका छन्। अमेरिकी सेनाको हवाई आक्रमणपछि त्यसको जवाफमा उक्त ड्रोनलाई निशाना बनाएर खसालिएको मोहबीले स्पष्ट पारेका छन्।

यसैबीच, कुवेतमा साइरन बजाइएको छ र क्षेप्यास्त्र तथा ड्रोन आक्रमणको प्रतिकार भइरहेको छ। कुवेती सेनाले आफूहरूमाथि भइरहेको ‘शत्रुतापूर्ण क्षेप्यास्त्र तथा ड्रोन आक्रमण’ को प्रतिकार गरिरहेको जनाएको छ। कुवेतको सरकारी समाचार एजेन्सी कुनाका अनुसार देशभर हवाई आक्रमणको साइरन बजाइएको छ। सेनाले एक विज्ञप्ति जारी गर्दै देशभर सुनिएका विस्फोटका आवाजहरू ती क्षेप्यास्त्र र ड्रोनलाई आकाशमै नष्ट गर्दा आएको प्रष्ट पारेको छ।

तेहरान विमानस्थलमा उडानहरू सामान्य रूपमा सञ्चालन भइरहेका छन्। तेहरानस्थित इमाम खुमेनी अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका उडानहरू स्थानीय समयानुसार बिहान ५ बजेदेखि पुनः सामान्य अवस्थामा फर्किएका छन्। सरकारी सञ्चार माध्यम आइआरआईबीका अनुसार यो पछिल्लो घटनाक्रम अमेरिकाले इरानमाथि गरेको शृङ्खलाबद्ध हवाई हमलालाई लिएर विकसित भएको हो। इरानका पूर्व सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको अन्त्येष्टि चलिरहेकै बेला अमेरिकाले बुधबार बिहानै इरानका ८० भन्दा बढी सैन्य अखडाहरूमा (बन्दर अब्बास, केश्म टापु र सिरिक लगायत) आक्रमण गरेको थियो।

होर्मुज स्ट्रेटमा इरानले ३ वटा व्यावसायिक तेल ट्याङ्करमाथि आक्रमण गरेको आरोप लगाएपछि अमेरिकी सेन्ट्रल कमान्डले उक्त हवाई कारबाही गरेको थियो। अमेरिकाको उक्त आक्रमणलाई इरानले दुई देशबीचको युद्धविराम सम्झौताको ‘खुला उल्लङ्घन’ भन्दै यसको ‘विनाशकारी जवाफ’ दिने चेतावनी दिएको छ। (एजेन्सीहरूको सहयोगमा)