प्रशान्त क्षेत्रका राष्ट्रहरूले चीनको क्षेप्यास्त्र परीक्षणको विरोधमा एकजुटता देखाए
२४ असार, काठमाडौं । प्रशान्त क्षेत्रका राष्ट्रहरूले चीनले हालै प्रशान्त महासागरमा गरेको रणनीतिक क्षेप्यास्त्र परीक्षणको विरोधमा कडा संयुक्त वक्तव्य जारी गर्ने तयारी गरिरहेका छन्। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले क्षेत्रीय सहमतिका लागि उक्त वक्तव्यको मस्यौदा प्रशान्त टापु फोरमका सदस्य राष्ट्रबीच छलफलमा रहेको जानकारी दिए। ब्रिस्बेनमा पपुवा न्यू गिनी, टोङ्गा र सामोआका नेतासँग सुरक्षा वार्ताअघि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री अल्बानिजले प्रशान्त क्षेत्रका देशहरूले एउटै स्वरमा बलियो सन्देश दिन आवश्यक रहेको बताए। उनका अनुसार तयार पारिएको संयुक्त वक्तव्य निकै कडा प्रकृतिको छ।
चीनले सोमबार प्रशान्त महासागरमा नक्कली वारहेड बोकेको रणनीतिक क्षेप्यास्त्र परीक्षण गरेको थियो। अस्ट्रेलिया, न्यूजिल्यान्ड, जापान र संयुक्त राज्य अमेरिकालगायतका देशहरूले त्यसको आलोचना गरेका छन्। निगरानीकर्ताहरूका अनुसार क्षेप्यास्त्र सोलोमन टापु, नाउरू र तुभालुबीचको समुद्री क्षेत्रमा खसेको देखिएको थियो। चिनियाँ सहायता र पूर्वाधार ऋणमा निर्भर धेरै प्रशान्त राष्ट्रहरूले बेइजिङको सार्वजनिक आलोचना गर्न हिच्किचाएका छन्। तर सोलोमन टापुले पनि मंगलबार उक्त क्षेप्यास्त्र परीक्षणप्रति असन्तुष्टि व्यक्त गरेको छ।
प्रधानमन्त्री अल्बानिजले टोंगा प्रधानमन्त्री लर्ड फकाफानुआ, पपुवा न्यू गिनीका प्रधानमन्त्री जेम्स मारापे र सामोआका प्रधानमन्त्री ला’ओलियालिमालिएटोआ ल्युएटा श्मिटसँग क्षेत्रीय सुरक्षा तथा सहकार्यबारे छलफल गरिरहेका छन्। उनले प्रशान्त क्षेत्रको सुरक्षाका लागि क्षेत्रीय राष्ट्रहरूले स्वयं जिम्मेवार बन्नुपर्नेमा जोड दिए। अस्ट्रेलियाले चीनको बढ्दो प्रभावलाई सन्तुलनमा राख्ने रणनीतिको अंशस्वरूप प्रशान्त क्षेत्रका देशहरूसँग सुरक्षा सहकार्यको साथै रग्बी लिग र रग्बी युनियन कार्यक्रममार्फत पनि सम्बन्ध विस्तार गरिरहेको छ।
चीनको क्षेप्यास्त्र परीक्षण अस्ट्रेलिया र फिजीबीच नयाँ रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर भएकै दिन भएको थियो। क्यानबेराले पछिल्ला वर्षहरूमा दक्षिण प्रशान्तका विभिन्न देशहरूसँग सुरक्षा सहकार्य विस्तार गर्दै आएको छ। फिजीका रक्षामन्त्री पियो टिकोडुआडुआले चिनियाँ दूतावासलाई परीक्षण नगर्न पूर्वचेतावनी दिएको बताएका छन्। उनका अनुसार यस्तो क्षेप्यास्त्र परीक्षणले क्षेत्रीय विश्वास र पारस्परिक सम्मान कमजोर बनाएको छ। साथै, परीक्षण भएको समयमा चीनको क्षेप्यास्त्र निगरानी जहाज युआन वाङ–५ फिजीको बन्दरगाहमा रहेको घटना उहाँले असामान्य संयोगको रूपमा व्याख्या गरेका छन्।

