२४ असार, काठमाडौं । ४८ टोलीहरुको ऐतिहासिक र रोमाञ्चक प्रतिस्पर्धालाई पार गर्दै फिफा विश्वकप २०२६ को ‘अन्तिम आठ’ को समीकरण पूरा भइसकेको छ। पूर्व विजेता अर्जेन्टिनाको संघर्षपूर्ण बचाउ, ब्राजिललाई स्तब्ध बनाउने नर्वेको चमत्कारिक उदय, र आयोजक टोलीहरुको बाहिर्झैं यसपटकको नकआउट यात्रालाई निकै नाटकीय बनायो। अपराजित स्पेन र फ्रान्सको बलियो लयदेखि मोरक्को र स्विट्जरल्यान्डको सशक्त रक्षात्मक रणनीतिसम्मले विश्वकपको उपाधि होडलाई थप रोचक मोडमा पुर्याएको छ। फुटबल इतिहासकै सबैभन्दा कठिन र लामो यात्राहरु तय गर्दै यी आठ बलिया टोलीहरु अब सुनौलो ट्रफीको कडा भिडन्तका लागि आमनेसामने हुँदैछन्।
फ्रान्सले समूह ‘आई’ मा आफ्नो प्रभुत्व कायम गर्दै समूह विजेताको रूपमा नकआउट चरण तय गर्यो। फ्रान्सले सेनेगलमाथि ३-१, नर्वेमाथि ४-१ र इराकमाथि ३-० को जीत हासिल गरेको थियो। राउन्ड अफ ३२ मा फ्रान्सले स्वीडेनलाई ३-० ले पराजित गर्यो भने राउन्ड अफ १६ मा बलियो रक्षापङ्क्ति भएको पाराग्वे विरुद्ध कप्तान किलियन एम्बाप्पेको निर्णायक पेनाल्टी गोलको मद्दतमा १–० को कठिन जीत निकाल्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो।
सन् २०२२ को सेमिफाइनलिस्ट मोरक्कोले यस पटक पनि उत्कृष्ट खेल प्रदर्शन गर्दै समूह ‘सी’ को उपविजेताको रूपमा नकआउट चरणमा प्रवेश गरेको थियो। समूह चरणमा मोरक्कोले ब्राजिलसँग १-१ को बराबरी खेल्दा स्कटल्यान्डलाई १-० अनि हाइटीलाई ४-२ को गोल अन्तरले पराजित गर्यो। राउन्ड अफ ३२ मा मोरक्कोले नेदरल्यान्ड्सलाई टाइब्रेकरमा पराजित गर्यो। राउन्ड अफ १६ मा मोरक्कोले आयोजक क्यानाडाविरुद्ध पूर्ण रूपमा प्रभुत्व जमाउँदै ३–० को सहज र शानदार जीत दर्ता गर्यो।
स्पेनले समूह ‘एच’ को विजेताको रूपमा नकआउटमा स्थान बनाएको थियो। स्पेनले हालसम्म जारी विश्वकपमा एक पनि गोल बेहोरेको छैन। समूह चरणमा स्पेनले केप भर्डेसँग गोलरहित बराबरी खेल्दा साउदी अरेबियालाई ४-० अनि उरुग्वेलाई १-० ले पराजित गर्यो। राउन्ड अफ ३२ मा स्पेनले अस्ट्रियामाथि ३-० को जीत हासिल गरेको थियो। राउन्ड अफ १६ मा छिमेकी प्रतिद्वन्द्वी पोर्चुगलविरुद्धको तनावपूर्ण ‘इबेरियन डर्बी’ मा मिकेल मेरिनोको इन्जुरी समयको थप गोलले स्पेनलाई १–० को रोमाञ्चक जीत दिलायो।
अबका खेलहरु:
फ्रान्स भर्सेस् मोरक्को : २६ असार (पहिलो क्वाटरफाइनल)
इंग्ल्यान्ड भर्सेस् नर्वे : २७ असार (दोस्रो क्वाटरफाइनल)
स्पेन भर्सेस् बेल्जियम : २८ असार (तेस्रो क्वाटरफाइनल)
अर्जेन्टिना भर्सेस् स्विट्जरल्यान्ड : २८ असार (चौथो क्वाटरफाइनल)

