अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले एचवानबी भिसालाई असाधारण प्रतिभा भएका व्यक्तिहरूको लागि बनाइएको भिसा कार्यक्रम भएको बताएका छन्। उनले यो भिसा कुनै धोकेबाजहरूको लागि नभएको स्पष्ट पारेका छन्। अमेरिकी करदाताहरूको रकमको सुरक्षा सम्बन्धी एक कार्यक्रममा उपराष्ट्रपति भान्सले उक्त कुरा व्यक्त गरेका हुन्। उनले एचवानबी भिसा कार्यक्रममार्फत करदाताको पैसा सही तरिकाले उपयोग हुँदोरहेछ भन्ने सुनिश्चित गर्न काम भइरहेको जानकारी दिएका छन्। कुनै पनि धोकेबाजले यो भिसा कार्यक्रमको गलत फाइदा लिन नपाउनु पर्नेमा उनले जोड दिएका छन्।
उनका अनुसार, असाधारण प्रतिभा भएका प्रविधि विशेषज्ञ, वैज्ञानिक वा डाक्टरहरूलाई अमेरिकामा आउन सजिलो बनाउने उद्देश्यले यो भिसा कार्यक्रम निर्माण गरिएको हो। उनीहरूले अमेरिकामा आएर यस भिसा कार्यक्रमको लाभ लिन सक्ने बताए। एचवानबी भिसाको दुरुपयोग गर्नेहरू विरुद्ध समन जारी भइसकेको र उनीहरूको अनुसन्धान पनि सुरु भइसकेको जानकारी उनले दिएका छन्। अमेरिकी जागिरहरू अमेरिकी कामदारहरूले पाउनुपर्ने हुँदा, यो व्यवस्थालाई दुरुपयोग गर्न खोज्ने विदेशी धोकेबाजहरूलाई अमेरिकी रोजगारी दिन नसकिने पनि उपराष्ट्रपतिले स्पष्ट पारेका छन्।






