Skip to main content

स्वास्थ्य निर्देशनालयले गलत विवरण पठाएपछि स्पष्टीकरण माग्यो

२५ असार, जनकपुरधाम । सात करोडको पोषण सामग्री खरिद प्रकरणमा स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानेले सतर्कता केन्द्रलाई मन्त्री र सचिवको नाम जोडेर गलत विवरण पठाएको कुरा सार्वजनिक भएको छ। गलत विवरण पठाएको विषयमा मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशक न्यौपानेलाई स्पष्टीकरण सोधेको छ। मंगलबार निर्देशकसँग स्पष्टीकरण सोधिएको मन्त्रालयका सचिव डा. प्रमोद यादवले पुष्टि गरे।

‘टेण्डर रद्दसम्बन्धी मन्त्रालयले निर्देशन दिएको थियो। तर प्रक्रिया जारी राखेको विषयमा सतर्कता केन्द्रले निर्देशनालयसँग स्पष्टीकरण माग गरेको थियो। मन्त्रालयमा मन्त्री र सचिवसँग भएको छलफलको मौखिक निर्देशनको आधारमा प्रक्रिया जारी राखिएको स्पष्टीकरणमा उल्लेख गरिएको भन्ने जानकारी मन्त्रालयमा पत्र आएपछि प्राप्त भयो,’ सचिव यादवले भने, ‘हामी चकित भयौं। त्यसपछि निर्देशनालयका निर्देशकसँग स्पष्टीकरण माग गरिएको छ।’ निर्देशनालयले जेठ ७ गते सात करोड रुपैयाँको पोषण सामग्री खरिद गर्न टेण्डर निकालेको थियो। विगतमा पोषण कार्यक्रमले औचित्य पुष्टि गर्न नसकेको कारण गत जेठ २९ गते निर्देशनालयलाई पत्राचार गर्दै उक्त खरिद प्रक्रिया रद्द गर्न निर्देशन दिइएको थियो।

तर, मन्त्रालयको निर्देशन विपरित निर्देशनालयले खरिद प्रक्रियालाई निरन्तरता दिएको कुरा सार्वजनिक गरिएको थियो। यस विषयमा सतर्कता केन्द्रले मन्त्रालयको निर्देशन विपरीत खरिद प्रक्रिया किन जारी राखियो भनेर निर्देशनालयसँग स्पष्टीकरण माग गरेको थियो। निर्देशनालयका निर्देशकले मन्त्रालयकै टिप्पणी र निर्देशन पश्चात पोषण सामग्री खरिद प्रक्रिया सुरु गरेको दाबी गरेका छन्। ‘मन्त्रालयले टेण्डर रद्द गर्ने पत्र पठाए पनि पछि पुनः यस विषयमा मन्त्रालयले रद्द गर्न निर्देशन जारी गर्यो। तथापि मन्त्रालयमा छलफलको क्रममा प्रक्रिया जारी राख्न भनेको थियो,’ उनले बताए।