गर्मी र वर्षा सिजन सुरु हुनासाथ घरभित्र कीरा देखिनु सामान्य हुन्छ। घरको कम्पाउण्ड र करेसाबारीमा तरकारी तथा बिरुवा लगाइएमा यो समस्या अझ बढ्छ। राति बाहिर अँध्यारो हुँदा भित्रको बत्तीको उज्यालो कीराहरूलाई आकर्षित गर्छ, विशेषगरी पुतली र उड्ने कीराहरू थुप्रिन्छन्। यस्ता कीराहरूले खानामा समस्या ल्याउने, शरीरमा टाँसिने र बिछ्यानामा रगरग गराउने गर्दछ। कहिलेकाहीं त यिनले घर र कोठासम्म कब्जा गर्छन्। यस्तो कीराबाट सुरक्षा पाउन यी उपायहरू उपयोगी रहन्छन्।
१. प्रकाशको पासो बनाउने: घरको कुनै ठाउँमा बत्ती बाल्नुस्। उदाहरणस्वरूप, बाल्कनीमा बत्ती बाल्नुभएको छ भने कीराहरू त्यहाँ घुम्न थाल्नेछन्। बत्तीको तल पानीले भरिएको बाल्टिन वा टब राख्नुस् र पानीमा थोरै तरल साबुन वा डिटर्जेन्ट मिसाउनुस्। कीराहरू प्रकाशमा टाँसिएर आफ्नो प्रतिबिम्ब पानीमा देखेपछि पानीमा खस्नेछन्। साबुन पानीमा मिस्दा उफ्रिन सक्दैनन्।
२. बत्तीको रङ परिवर्तन गर्ने: कीराहरू प्रायः सेतो वा नीलो प्रकाशमा बढी आकर्षित हुन्छन्। त्यसैले गर्दा ढोकामा रहेको बत्तीको रङ पहेंलो वा तातो सुन्तला रङमा परिवर्तन गर्न सकिन्छ।
३. नीम र कपूर स्प्रे छर्ने: कीरा भगाउन पानीमा नीमको रस वा धुलो कपूर मिसाएर स्प्रे तयार पार्नुस्। यो मिश्रण ढोका, झ्याल र बत्ती वरिपरि छर्कनुहोस्। नीम र कपूरको गन्धले कीराहरू छु्टछन्।
४. सकेसम्म बत्ती नबाल्ने: साँझपख बाहिरको बत्ती अनावश्यक रूपमा बाल्दा कीराहरू आकर्षित हुन्छन्। जरुरी नभएको खण्डमा बत्ती नबाल्दा कीराका समस्या कम हुन्छ।
५. घरमा ओसिलोपन बढ्न नदिने: ओसिलो वातावरणले पनि कीराहरू आकर्षित गर्छ। घरमा ओस रोक्दा कीराहरू टाढा राख्न मद्धत हुन्छ।
६. झ्याल ढोकामा जाली राख्ने: गर्मी हुँदा झ्याल र ढोका खुला राख्नु आवश्यक हुन्छ। यस अवस्थालाई मध्यनजर गर्दै झ्याल र ढोकामा जाली राखेर कीराहरु भित्र पस्नबाट रोक्न सकिन्छ।






