Skip to main content

भारतीय सेयर बजारमा पहिलोपटक नेपाली उद्यमीको कम्पनी सूचीबद्ध

२५ असार, काठमाडौं । नेपाली उद्यमी दीपजंग थापा सहसंस्थापक रहेका भारतीय साइबर सुरक्षा कम्पनी क्रतिकल टेक लिमिटेडको प्रथम सार्वजनिक निष्कासन (आईपीओ) मुम्बई स्टक एक्सचेञ्ज (बीएसई) मा सूचीबद्ध भएको छ। भारतको सेयर बजारमा सूचीबद्ध हुने पहिलो नेपाली संस्थापकको कम्पनी हो यो। खोटाङका स्थायी बासिन्दा थापा कम्पनीका सहसंस्थापक तथा प्रमुख सञ्चालन अधिकृत (सीओओ) हुन्। कम्पनी क्रतिकलको सेयरमा मागभन्दा २०५ गुणा बढी आवेदन परेको थियो। भारतको नोएडास्थित मुख्यालय रहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आधारित साइबर सुरक्षा कम्पनीको आईपीओ असार १६ मा खुलेर १८ मा बन्द भएको थियो। कम्पनी बीएसईको एसएमई प्लेटफर्म अन्तर्गत सूचीबद्ध भएको हो। कम्पनीले भारतीय पूँजी बजारमा उल्लेखनीय प्रतिक्रिया पाएको जनाएको छ।

सन् २०१३ मा मोतीलाल नेहरू राष्ट्रिय प्राविधिक संस्थान (एमएनएनआईटी) अलाहावादमा बीटेक अध्ययनको क्रममा दीपजंग थापा, पवन कुमार र परतोष कुमारले यो कम्पनी स्थापना गरेका थिए। सन् २०१५ मा उनीहरू इन्जिनियरिङ उत्तीर्ण भए। २०१७ मा कम्पनीले पहिलो चरणको लगानी जुटाएपछि पूर्णरूपले कम्पनीमा लागेको थापाले बताएका छन्। थापा केही समय पेटीएममा प्रडक्ट म्यानेजरका रूपमा कार्यरत थिए। कम्पनी हाल एआई आधारित साइबर सुरक्षा समाधान उपलब्ध गराउँदै आएको छ। आईपीओ सफल भएपछि थापाले खोटाङको गाउँदेखि बीएसईसम्मको यात्रा आफूका लागि सपना जस्तो लागेको प्रतिक्रिया दिए।

लगानीकर्ताबाट प्राप्त विश्वासले कम्पनीको सोच र यात्रालाई अझ ऊर्जा दिएको भन्दै उनले अब नयाँ पूँजीमार्फत विश्वव्यापी विस्तार, नयाँ प्रविधि विकास र सीमापार साइबर सुरक्षा समाधान अझ सुदृढ बनाइने बताए। यो आईपीओ आफूहरूको महत्त्वाकांक्षी यात्राको सुरुवात मात्र रहेको उनले बताए। कम्पनीको स्थापना पनि रोचक घटनाबाट भएको थियो। सहसंस्थापकमध्ये एक जनाको इमेल क्याम्पसको साझा कम्प्युटरबाट ह्याक भएपछि साइबर सुरक्षा आवश्यकताको महसुस गर्दै तीन साथीले कम्पनी स्थापना गरेका थिए। त्यसयता कम्पनीले एआई–सञ्चालित सफ्टवेयर–एज–ए–सर्भिस (सास) प्लेटफर्म, साइबर सुरक्षा परामर्श तथा नियामकीय कम्प्लायन्स सेवा उपलब्ध गराउँदै आएको छ। कम्पनीका ग्राहक भारतसहित मध्यपूर्वका बैंकिङ तथा वित्तीय सेवा, फिनटेक, टेलिकम, सूचना प्रविधि, स्वास्थ्य, औषधि, ई–कमर्स र उत्पादनमूलक क्षेत्रसम्मका छन्। करिब नौ वर्षअगाडि चार जना एन्जल इन्भेष्टरबाट प्रारम्भिक लगानी जुटाएको कम्पनीको हालको मूल्य करिब ३ अर्ब २३ करोड नेपाली रुपैयाँ बराबर पुगेको जनाइएको छ। आईपीओबाट उठेको रकम अमेरिका, मध्यपूर्व लगायत अन्तर्राष्ट्रिय बजारमा व्यवसाय विस्तारका लागि उपयोग गरिने कम्पनीले जनाएको छ। नेपालमा पनि आफ्नो उपस्थिति विस्तार गर्नेक्रममा क्रतिकल टेकले काठमाडौंस्थित प्रविधि कम्पनी ग्याप टेक्नोलोजिजसँग साझेदारी गरिसकेको छ।