Skip to main content

एमबाप्पे र डेम्बेलेका गोलले फ्रान्स सेमिफाइनलमा प्रवेश गरे

पहिलो क्वार्टरफाइनलमा कप्तान किलियन एमबाप्पेले पहिलो हाफमा पेनाल्टी मिस गरे पनि दोस्रो हाफमा दुवै फरवार्डले गोल गर्दा फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। २५ असार, काठमाडौं। मोरक्कोलाई २-० ले पराजित गर्दै फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको हो। अमेरिकाको बोस्टन स्टेडियममा शुक्रबार विहान भएको खेलमा एमबाप्पेले पहिलो हाफमा पेनाल्टी मिस गरे पनि दोस्रो हाफमा गोल गर्दै टोलीलाई अग्रता दिलाए।

सन् २०१८ को विजेता तथा साविक उपविजेता फ्रान्सले अब फाइनल प्रवेशका लागि स्पेन र बेल्जियमबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। चार वर्षअघि कतारमा भएको विश्वकपमा फ्रान्स र मोरक्को सेमिफाइनलमा भिडेका थिए, जहाँ फ्रान्स विजयी भएको थियो। यस पटक मोरक्को बदला लिन मैदान उत्रिएको थियो, तर पहिलो हाफमा सफल रक्षापछि दोस्रो हाफमा दुई गोल बेहोर्नुपरेको छ।

मोरक्कोका गोलकिपर यासिन बोनोले खेलको पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै पेनाल्टीसहित तीन उत्कृष्ट बचत गरे। एमबाप्पेले २८औं मिनेटमा प्रहार गरेको पेनाल्टी बोनसले बचाएको थियो। खेलको ६०औं मिनेटमा एमबाप्पेले डिजायर डुङ्केको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। डेम्बेलेले पनि ६ मिनेटपछि गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे। यस विश्वकपमा डेम्बेलेको यो पाँचौं गोल हो।