Skip to main content

मध्यपूर्वमा द्वन्द्वको पुनरागमन: ‘रेमिट्यान्समा निर्भर परिवारको चुलोचौको नै सुक्ने अवस्था’

अमेरिका र इरानबीच मध्यपूर्वमा युद्धको पुनरागमनसँगै रेमिट्यान्स भित्रिने प्रमुख गन्तव्यमा वैदेशिक रोजगारीको विषयमा नेपालमा चिन्ता बढेको छ। वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार यो वर्षको वैशाख र जेठमा इरान युद्धबाट सबैभन्दा प्रभावित देश कुवेतमा रोजगारीका लागि जाने नयाँ नेपाली कामदारहरूको सङ्ख्या गत वर्षको त्यही अवधिभन्दा दुईतिहाइले घटेको छ। गत वर्ष वैशाखमा ३,४५३ जनाले कुवेत जान श्रम स्वीकृति लिएका थिए भने यो वर्षको वैशाखमा १,०४१ जनाले मात्र नयाँ श्रम स्वीकृति लिए। गत वर्षको जेठमा तीन हजार भन्दा बढी कामदारले कुवेतमा श्रम स्वीकृति लिएका थिए, तर यो वर्ष १,१०० ले मात्र श्रम स्वीकृति लिएका छन्।

कुवेतका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या गत वर्षको माघसम्म ३,८५३ थियो। तर माघ १६ गतेबाट इरान युद्ध सुरु भएसँगै त्यही महिनायता नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या २,००० भन्दा कम भएको छ। कुवेत मात्र होइन, इरानले क्षेप्यास्त्र र ड्रोन आक्रमण गरिरहेका यूएई, कतार, साउदी अरब र बाहरेनसहितका श्रम गन्तव्यमा जाने नेपालीहरूको सङ्ख्या फागुन यता कम भएको छ। फागुनमा संयुक्त अरब एमिरेट्स (यूएई)मा इरानी ड्रोनका कारण एक नेपालीले ज्यान गुमाएका थिए।

सरकारले फागुन १७ गतेबाट साउदी अरब, यूएई, कतार, कुवेत, बाहरेन, ओमान, इरान, यमन, जोर्डन, लेबनन, टर्की र इजरेलको श्रम स्वीकृतिमा लगाएको रोक ५० दिनपछि वैशाख ७ गते हटाएको थियो। अमेरिका र इरानबीच जेठमा शान्ति सम्झौता हुनुअघि इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडाका साथै विमानस्थल र इन्धन केन्द्रसहितका क्षेत्रमा आक्रमण गरेको थियो। पहिलो चरणको शान्ति सम्झौता सुरक्षित हुने ठानिएको मध्यपूर्वमा अमेरिका र इरानबीच युद्धविराम भङ्ग भएसँगै चिन्ता पुनः बढेको अधिकारीहरूले बताएका छन्।

कुवेतमा अमेरिकी बेसमा काम गर्ने सफाइ कर्मचारी र सुरक्षागार्डलगायतका २२ देखि ३० हजार कामदार अहिले होल्डिङ सेन्टरमा बसिरहेका छन्। कम्पनीले केही महिना पूरा तलब दियो, केही महिनाबाट आधा तलब दिएर राखेको छ। भुर्तेलका अनुसार हालै पुगेकादेखि वर्षौँदेखि मध्यपूर्वमा काम गरिरहेका नेपालीहरू द्वन्द्वका कारण प्रभावित भएका छन्। उनले भने, “केहीले द्वन्द्व साम्य होला र काममा फर्किऔँला भनेर कामदारहरू होल्ड गरेर राखेका छन्।”

नेपाल राष्ट्र बैंकले एक महिनाअघि सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत वर्षको तुलनामा यो आर्थिक वर्षको १० महिनामा विप्रेषण ४१ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको वैशाख महिनामा १ खर्ब ६५ अर्ब रुपैयाँ रेमिटन्स भित्रिएकामा यो वैशाखमा २ खर्ब ५७ अर्ब रुपैयाँ भित्रिएको केन्द्रीय बैंकले जनाएको छ। यद्यपि श्रम स्वीकृति लिने नेपाली श्रमिकहरूको सङ्ख्या अघिल्लो वर्षको तुलनामा घटेको देखिएको छ। पहिलो पटक श्रम स्वीकृति लिनेको सङ्ख्या यो वर्ष तीन लाख ३५ हजार छ भने अघिल्लो वर्ष यो सङ्ख्या चार लाख पाँच हजार थियो।