अमेरिका र इरानबीच आक्रमण-प्रत्याक्रमणको बीच इरानका पूर्व सर्वोच्च नेताको अन्तिम संस्कार
बिहीवार अमेरिका र इरानबीच आक्रमण-प्रत्याक्रमण जारी रहँदै होर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने पानीजहाजहरूको सङ्ख्यामा “नाटकीय” गिरावट देखिएको छ। अमेरिकाले ९० वटा निसानामा प्रहार गरेको जनाएको छ, जस मध्ये केही निसाना सो जलमार्गको नजिक रहेका छन्। इरानले गत दुई दिनमा भएका आक्रमणहरूमा १४ जनाको मृत्यु भएको जनाएको छ। इरानी सरकारी सञ्चारमाध्यमहरूले बुशेहर परमाणु केन्द्र नजिकै भएको आक्रमणमा उक्त प्रान्तका उप गभर्नरलाई उद्धृत गर्दै जनाएका छन्। अमेरिकाले यसबारे कुनै टिप्पणी गरेको छैन।
इरानले कुवेत, बाहरेन र कतारमा रहेका अमेरिकी केन्द्रहरूलाई निशाना बनाएको बताएको छ। बाहरेनको राजधानी मानामा विस्फोटहरू भएका छन् भने कुवेतले क्षेप्यास्त्र र ड्रोनको प्रतिरोध गरेको र कतारमा सुरक्षा सतर्कता कायम गरिएको छ। बिहीवार राति तेहरानले कुवेत, जोर्डन र इराकमा थप प्रहार गरेको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्। इरानी अधिकारीहरूले अमेरिकासँग होर्मुज जलमार्गको नियन्त्रणका लागि भएको लडाइँको बीच देशका विभिन्न क्षेत्रहरूमा ताजा हवाई प्रहार गरिएको बताएका छन्।
सामाजिक सञ्जालमा जारी एक विज्ञप्तिमा अमेरिकी सेनाले होर्मुज जलमार्ग इरानको नियन्त्रणमा नरहेको बताएको छ। उनका अनुसार अमेरिकी सेनाले आठ सय व्यापारिक पानीजहाज र ४० करोड ब्यारेल कच्चा तेललाई सो मार्गबाट सफलतापूर्वक ढुवानी गर्न सहयोग गरेको छ। हमलाको बीचमा नै ६ दिनसम्म चलेको अन्तिम संस्कारको विभिन्न कार्यक्रमसहित इरानले दिवंगत सर्वोच्च नेता आयातोल्लाह अलि खामेनेइको पार्थिव शरीर समाधिस्थ गरेको छ।
त्यसका लागि उत्तरपूर्वी शहर माशादका सडकहरूमा ठूलो भिड जम्मा भएको थियो, जहाँ इरानी झण्डा फहराइएका थिए। कतिपयले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई लक्षित मृत्यु धम्की लेखिएका ब्यानरहरू बोकेका थिए। अमेरिका र इजरेलले इरानमा आक्रमण सुरु गरेको दिन फेब्रुअरी २८ मा खामेनेइको निधन भएको थियो। इरानको विदेश मन्त्रालयले पछिल्ला अमेरिकी आक्रमणलाई “गम्भीर युद्ध अपराध” भन्दै अमेरिकी प्रशासनलाई “दुष्ट र मानसिक रोगी” भनेको छ।






