फिफा विश्वकप २०२६ मा नर्वेको ऐतिहासिक प्रदर्शनपछि राष्ट्रिय टोलीको जर्सीको माग अत्यधिक बढेको छ। युरोपका बजारहरूमा जर्सी अभाव भएको छ। नर्वेको फुटबल संघका अनुसार यस वर्ष जर्सीको अर्डर गत वर्षको तुलनामा पाँचगुणा बढेर २ लाख ५० हजारसम्म पुगेको छ। पसलका व्यवस्थापक आन्डर्स लिलेबेर्गले भनेका छन्, “म धेरै वर्षदेखि यहाँ काम गरिरहेको छु, तर यस्तो माहोल पहिले कहिल्यै देखेको थिइनँ।” २६ असार, काठमाडौं।
इङ्ल्यान्डविरुद्धको क्वार्टरफाइनल खेलअघि युरोपभरिका आधिकारिक विक्रेताहरुले नर्वेको जर्सीको स्टक सकिसकेको छ। समर्थकहरू रातभर लाइन बसेर जर्सी किन्न बाध्य भएका छन्। नर्वेको फुटबल संघ (एनएफएफ) ले जर्सीको मागलाई कम आँकेको स्वीकार गर्दै भनेको छ कि नयाँ जर्सी मार्चमा सार्वजनिक भएयता नाइकसहित अधिकांश आधिकारिक विक्रेताहरुमा जर्सी लगातार बेचिँदै सकिएको छ। स्टार स्ट्राइकर एर्लिङ हालान्डको उत्कृष्ट प्रदर्शन र ब्राजिलमाथिको ऐतिहासिक जितपछि जर्सीको माग अझ उच्च गतिमा बढेको हो।
एनएफएफ का व्यावसायिक निर्देशक रुनार पाहर आन्द्रेसेनका अनुसार यस वर्ष खुद्रा विक्रेताहरुले करिव दुई लाख ५० हजार जर्सी अर्डर गरेका छन्, जुन गत वर्ष करिव ५० हजार मात्र थियो। उनले भने, “समर्थकहरूको माग अनुमान भन्दा धेरै छ तर विश्वकप चलिरहेको बेला उत्पादन उल्लेखनीय रूपमा बढाउन कठिन हुनेछ।” ओस्लोस्थित प्रसिद्ध खेल सामग्री पसल टोर्सहोभ स्पोर्टमा मंगलबार नयाँ जर्सी आइपुग्ने खबर सुनाउँदा बुधबार बिहानदेखि सयौं समर्थकहरू लाइनमा बसेका थिए।
पसलका प्रबन्धक आन्डर्स लिलेबेर्गले आफूले यति उत्साह पहिले कहिल्यै नदेखेको बताए। उनले भने, “यो साँच्चिकै अविश्वसनीय छ।” हाल पसलले अर्को चरणमा आउने जर्सीका लागि नाम दर्ता गर्न सुरु गरेको छ, तर सबैले इंग्ल्यान्डविरुद्धको क्वार्टरफाइनलअघि जर्सी पाउने सुनिश्चितता छैन। जर्सीको अभावसँगै पुनःबिक्री बजारमा यसको मूल्य पनि भारी बढेको छ। आधिकारिक रूपमा ८९.९९ पाउन्डमा बिक्री भएको घरेलु जर्सी अहिले केही पुनःबिक्री साइटहरूमा ३५५ पाउन्डसम्म पुगेको छ। एनएफएफका अनुसार राष्ट्रिय टोलीको जर्सी बिक्रीबाट यस वर्ष अहिलेसम्मकै सबैभन्दा ठूलो आम्दानी भएको छ। नर्वेले यस विश्वकपमा इराक, सेनेगल, आइभरी कोस्ट साथै पाँच पटकको विश्व विजेता ब्राजिललाई हराउँदै पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएको हो। अब नर्वे आइतबार इंग्ल्यान्डसँग सेमिफाइनल प्रवेशको लागि प्रतिस्पर्धा गर्नेछ।






