Skip to main content

ज्ञानेश्वरमा महालक्ष्मी विकास बैंकको कफी लाउन्जसहित डिजिटल हबको उद्घाटन

महालक्ष्मी विकास बैंकले काठमाडौंको ज्ञानेश्वरमा कफी लाउन्जसहित विशिष्ट डिजिटल हब सञ्चालनमा ल्याएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले एक कार्यक्रमका बीच उक्त डिजिटल हबको औपचारिक उद्घाटन गरेका छन्। डिजिटल बैंकिङ सेवालाई प्रविधिमैत्री र आधुनिक बनाउने उद्देश्यले सञ्चालन गरिएको यस हबमा ग्राहकहरूले आरामदायी वातावरणमा वित्तीय कारोबार गर्न सक्नेछन्।

२६ असार, काठमाडौं। महालक्ष्मी विकास बैंकले कफी लाउन्जसहित डिजिटल हब सञ्चालनमा ल्याएको हो। शुक्रबार एक कार्यक्रमका बीच काठमाडौं महानगरपालिका–३० ज्ञानेश्वरमा उक्त डिजिटल हबको औपचारिक उद्घाटन गरिएको हो। बैंक सञ्चालक समिति अध्यक्ष राजेश उपाध्यायले कफी लाउन्जसहित डिजिटल हब रहेको कार्यालय भवनको उद्घाटन गरे। कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत लगायत व्यवस्थापन समितिका पदाधिकारी र कर्मचारीहरू उपस्थित थिए।

डिजिटल बैंकिङ सेवालाई आधुनिकीकरण, सुरक्षित, प्रविधि तथा ग्राहकमैत्री बनाउन बैंकको नीति निरन्तरता दिँदै सेवा क्षेत्रमा नवीनतम अवधारणाको रूपमा कफी लाउन्ज सुविधा थपिएको बैंकले जनाएको छ। यसअन्तर्गत ग्राहकहरूले आरामदायी वातावरणमा बसेर नगद जम्मा गर्ने, चेक क्लियरिङ गर्ने, नगद झिक्ने तथा अन्य विद्युतीय कारोबारहरूको विशिष्ट अनुभव लिन सक्नेछन्।

नेपालको बैंकिङ क्षेत्रमा यस प्रकारको सेवा प्रदान गर्ने महालक्ष्मी विकास बैंक सम्भवत: पहिलो बैंक रहेको बैंकको भनाइ छ। डिजिटल प्रविधि प्रयोगमा युवालाई आकर्षित गर्न तथा ग्राहकसम्म पहुँच विस्तार गर्न सञ्चालन गरिएको यस डिजिटल हबमार्फत डिजिटल बैंकिङ सेवासम्बन्धी परामर्श पनि प्रदान गरिने बैंकले बताएको छ। यसबाट यो स्थान ग्राहकका लागि सिकाइ र अनुभवको केन्द्र बन्ने अपेक्षा बैंकले लिएको छ। साथै, नेपाल राष्ट्र बैंकको ‘रेगुलेटरी स्यान्डबक्स’ अवधारणा समेत अवलम्बन गरी भविष्यमा वित्तीय सेवामा नवप्रवर्तनलाई प्रोत्साहन गर्दै नयाँ वित्तीय सेवा प्रदान गर्न बैंक प्रतिबद्ध रहेको जनाइएको छ।