हालान्डले जन्मभूमि इंग्ल्याण्डविरुद्ध करियरकै महत्वपूर्ण खेल खेल्दै, नयाँ इतिहास रच्ने अवसर
इंग्ल्याण्डको लिड्समा जन्मिएका हालान्डले चाहेको भए इंग्ल्याण्डबाट खेल्न सक्थे। तर उनले सधैं आफ्नो पहिचान नर्वेसँग जोडिएको बताएका छन् र अन्तर्राष्ट्रिय करिअरका लागि त्यही देश रोजेका छन्। एर्लिङ हालान्डले आफ्नो जन्मभूमि इंग्ल्याण्डविरुद्धको विश्वकप क्वार्टरफाइनल खेललाई नर्वेको लागि इतिहास रच्ने अवसरका रूपमा लिएका छन्। सन् १९९८ पछि पहिलोपटक विश्वकपमा छनोट भएको नर्वेलाई हालान्डले आफ्नो उत्कृष्ट प्रदर्शनमार्फत प्रतियोगिताको क्वार्टरफाइनलसम्म पुर्याएका छन्। हालान्डले यस विश्वकपमा हालसम्म सात गोल गरिसकेका छन् र उनी प्रतियोगिताको ‘गोल्डेन बुट’ जित्ने दौडमा समेत रहेका छन्।
एर्लिङ हालान्डका लागि शनिबार हुने विश्वकप क्वार्टरफाइनल केवल अर्को खेल होइन। यो उनको जन्मभूमि इंग्ल्याण्डविरुद्ध आफ्नै देश नर्वेको लागि इतिहास रच्ने अवसर पनि हो। इंग्ल्याण्डको लिड्समा जन्मिएका हालान्डले चाहेको भए इंग्ल्याण्डबाट खेल्न सक्थे। तर उनले सधैं आफ्नो पहिचान नर्वेसँग जोडिएको बताए र अन्तर्राष्ट्रिय करिअरका लागि त्यही देश रोजे। त्यो निर्णयले उनलाई वर्षौंसम्म विश्वकपबाट टाढा राख्ने जोखिम थियो, किनभने नर्वे सन् १९९८ पछि विश्वकपमा छनोट हुन सकेको थिएन। जब नर्वेले पछिल्लो पटक विश्वकप खेलेको थियो, हालान्ड जन्मिएकै थिएनन्। तर २८ वर्षको लामो प्रतीक्षाको अन्त्य गर्दै हालान्डले यसपटक नर्वेलाई विश्वकपको क्वार्टरफाइनलसम्म पुर्याएका छन्। अब सेमिफाइनल पुग्न उनको बाटोमा उभिएको टोली भने जन्मिएको देश इंग्ल्याण्ड हो।
सन् २००० मा इंग्ल्याण्डको लिड्समा जन्मिएका हालान्डका पिता आल्फ–इंगे हालान्ड त्यतिबेला इंग्लिस क्लबबाट खेलिरहेका थिए। तीन वर्षपछि परिवार नर्वेको ब्रिन सहर फर्कियो र त्यहीँबाट उनको फुटबल यात्रा सुरु भयो। ब्रिनको एकेडेमीदेखि मोल्डे, रेड बुल साल्जबर्ग, बोरुसिया डर्टमन्ड हुँदै उनी म्यानचेस्टर सिटी पुगे। क्लब फुटबलमा सबै प्रमुख उपाधि जितिसकेका हालान्ड अहिले आफ्नो देशलाई विश्व फुटबलको उचाइमा पुर्याउने अभियानमा छन्। पूर्व इंग्ल्याण्ड प्रशिक्षक ग्यारेथ साउथगेटले केही वर्षअघि नै हालान्ड इंग्ल्याण्डबाट खेल्ने सम्भावना नरहेको बताएका थिए। ‘उनी आफू कुन देशबाट खेल्न चाहन्छन् भनेर सधैं स्पष्ट थिए। उनी नर्वेकै प्रतिनिधित्व गर्न चाहन्थे र त्यसको सम्मान गर्नुपर्छ’ साउथगेटले भनेका थिए।






